सोरेङः सिक्किम सरकार सेवानिवृत्त कर्मचारी कल्याण संघ सोरेङ जिल्लाको तत्वावधानमा आज सोरेङ विद्यालयको प्रेक्षागृहमा अन्तरराष्ट्रिय जेष्ठ नागरिक दिवस भव्यरूपमा पालन गरियो। यस कार्यक्रममा सोरेङ-च्याखुङ समष्टिका विधायक आदित्य गोले मुख्य अतिथिको रूपमा उपस्थित थिए भने उनीको साथमा मुख्यमन्त्रीकी धर्मपत्नी शारदा तामाङ, मुख्यमन्त्रीका प्रेस सल्लाहकार सीपी शर्मा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा आयोजक समितिले सोरेङ जिल्लाका दसजना ८० वर्षभन्दा माथिका जेष्ठ सेवानिवृत्त कर्मचारीलाई सम्मान जनायो। सिक्किम सरकार सेवानिवृत्त कर्मचारी कल्याण संघका राज्य स्तरीय महासचिव पीएल शर्माले आफ्नो सम्बोधनको क्रममा यो गैर राजनीतिक संगठनले सेवानिवृत्त कर्मचारीहरुको हितमा सरकारसँग मिलेर कार्य गरिरहेको जानकारी गराउँदै सेवानिवृत्त कर्मचारीको कतिपय आवश्यक मागहरुलाई सरकारसमक्ष पेश गरिसकेको बताए। सिक्किम सरकार सेवानिवृत्त कर्मचारी कल्याण संघ एउटा पञ्जीकृत संगठन रहेको अनि यो संगठनको छातामुनि राज्यभरि ११ वटा संस्था रहेको पनि महासचिव शर्माले बताए। अर्कोतिर सोरेङ जिल्लाले यो संगठनलाई बिस्तार गर्दै बीएसी स्तरसम्म पुऱ्याएर ६ वटा संस्था खोलिसकेको अवगत गराए।

कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित विधायक आदित्य गोलेले सोरेङ जिल्ला सिक्किम सरकार सेवानिवृत्त कर्मचारी कल्याण संघलाई सुन्दर र सभ्य कार्यक्रम आयोजना गरेकोमा बधाई दिँदै सेवानिवृत्त कर्मचारीहरु समाजको मार्गदर्शक रहेको हुँदा विभिन्न क्षेत्रमा कर्मचारीहरुले नेतृत्वमा दिनुपर्ने विधायक गोलेले अनुरोध गरे। सोरेङमा केही महिनापछि रेड पाण्डा फेस्टिबल र राज्य स्तरीय भण्डारी जयन्ती पालन गरिने तय भइसकेको जानकारी गराउँदै उक्त कार्यक्रममा अधिक मात्रामा सहभागी बनिदिने पनि आग्रह गरे।










