डा. सोनाम बी वाङ्गेल ‘डुवर्स गौरव सम्मान’द्वारा सम्मानित 

00-1-A-IMG-20230821-WA0299

बाग्राकोट: डुवर्सको बानरहाटस्थित कारबला चिया बगानमा आइतवार भानु स्मरण तथा भाषा दिवस भव्य रूपमा पालन गरिएको छ। यसै अवसरमा डुवर्सका विशिष्ट इतिहासकार तथा बुद्धिजीवी डा. सोनाम बी वाङ्गेललाई पहिलो ‘डुवर्स गौरव सम्मान’, २०२३ अर्पण गरियो। समारोहमा सिक्किमका विशिष्ट बुद्धिजीवी तथा साहित्यकार एमएन दाहाल, असम गोर्खा सम्मेलनका अध्यक्ष कृष्ण भूजेल, वरिष्ठ समाजसेवी काजी प्रधान, मूर्धन्य भाषा सङ्ग्रामी मीनबहादुर गुरुङ, इतिहासकार वसन्त बी लामा, डा. डिकी लामा, साहित्यकार भानु प्रकाश मार्मिक सहितका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। डुवर्स नेपाली साहित्य विकास समिति र बानरहाट मखमली समाजद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रमलाई विकास समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले अध्यक्षता गरेका थिए। 

मुख्य अतिथि एवं विशिष्ट अतिथिगणका बाहुलीबाट डा. सोनाम बी. वाङ्गेललाई अति सम्मान र आदरका साथ अभिषेकसहित पुरस्कार अर्पण गरियो। कृष्णमाया श्रेष्ठ स्मृति केन्द्रका संयोजक अनन्त श्रेष्ठ एवं उनका परिवारका सदस्यहरूले आफ्नी आमाको नाममा यो पुरस्कार प्रायोजन गरेका हुन्। पुरस्कृत भएपछि समारोहलाई सम्बोधन गर्दै डा. वाङ्गेलले भने, गोर्खाल्याण्ड आन्दोलनपछिका प्राप्तिहरूमा डुवर्स जहिल्यै छोड़िएको छ। दार्जीलिङ गोर्खा पार्वत्य परिषद् होस् वा जीटीए, दुवैमा डुवर्सलाई धोका भयो। यस्तो सहने गुण एकप्रकारको गुनाहा हो। आफूले पाएको सम्मानको निम्ति उनले विकास समिति र डुवर्सवासीलाई धन्यवाद दिए। आफूले पैसा कमाउन नसके पनि बौद्धिक मित्र र समाजका इमानदार मान्छेहरूको संसर्ग कमाएको भन्दै त्यसप्रति उनले सन्तोक प्रकट गरे। विशिष्ट बुद्धिजीवी एमएन दाहालले डुवर्सको गतिशीलताको मुग्धकण्ठले प्रशंसा गरे। समाजले सम्झनुपर्ने ओझेल परेका विशिष्ट हस्तीलाई यसरी सम्मान गरेर डुवर्सले आफ्नै मूल्याङ्कन गरेको उनको भनाइ थियो। मुख्य अतिथि दाहालले भने, डुवर्स अब साहित्यको तीर्थस्थल बन्दैछ। गोर्खाहरूको राष्ट्रिय पहिचानको सङ्घर्षलाई एक गर्ने शक्ति कतै छ भने त्यो डुवर्ससँग छ। भाषा आन्दोलनमा संसदको चर्चा बढ़ी सड़कको चर्चा कम हुने गरेको उल्लेख गर्दै उनले सङ्ग्रामीहरूको मूल्याङ्कनमा उदारता अप्नाउनुपर्ने आवश्यकतामाथि जोड़ दिए। यसैगरी, विशिष्ट अतिथि कृष्ण भूजेलले डुवर्सले असमलाई धेरै गुण लगाएको बताउँदै डुवर्सको गोर्खा समाज जीवन्त र गतिशील रहेको विचार पोखे। डुवर्सका विशिष्ट प्रतिभालाई सम्मानित गरेर डुवर्सले पुनः बाजी मारेको उनको ठहर थियो। असमका गोर्खाहरूको इतिहास खोजिदिन अनि इतिहासको पुनर्लेखन गरिदिन उनले इतिहासकारहरूलाई आह्वान पनि जनाए। कार्यक्रममा समालोचक रूपेश शर्मा र सुपरिचित कवि राजा पुनियानीले पनि भाषा दिवसको औचित्य र मर्ममाथि गहन विमर्श राखेका थिए। रूपेश शर्माले राष्ट्रिय स्तरमा भारतीय नेपालीभाषीहरूको स्थिति दाबी गरेजस्तो नभएको बताउँदै २०११ को जनगणनामा भारतभरि गोर्खाहरूको जनसङ्ख्या केवल २९ लाख २६ हजार १६८ देखाइएको जानकारी दिए। जातीयतामा गर्वबोध भाषामा हीनताबोध जस्तो उदेकलाग्दो स्थितिमा भारतीय गोर्खाहरू बाँचिरहेको भन्दै उनले त्यसप्रति चिन्ता जताए। भाषाको व्यावहारिकताको प्रश्नमा भाषा आन्दोलनजस्तै सङ्घर्षको खाँचो रहेको कुरामा पनि उनले जोड़ दिए। यसैगरी, राजा पुनियानीले विश्वमा चलेका अश्वेत आन्दोलन र त्यसका प्राप्तिहरूबारे चर्चा गर्दै उनीहरूबाट गोर्खाहरूले पनि प्रेरणा लिनुपर्ने बताए। आफ्नो भाषालाई प्रेम गर्न अनि कम्तीमा आफ्ना नानीहरूलाई नेपाली भाषा बोल्न र लेख्न सिकाउनुपर्ने कुरामा उनको विशेष जोड़ थियो। उनको मन्तव्य बौद्धिक पुट, अन्तरराष्ट्रिय प्रेरणा र मातृभाषा प्रेमले भरिएको थियो। 

मखमली समाजका अध्यक्ष कुमार छेत्री र निबन्धकार अजय खड़्काद्वारा सञ्चालित कार्यक्रममा कविता वाचन, भानुभक्त र भाषामाथि विद्यार्थीहरूका विचार, सांस्कृतिक नृत्य, गीत तथा रंगारंग कार्यक्रमहरूको समाविष्ट गरिएको थियो भने स्थानीय समाजसेवी स्व. अगमशेर राईकी धर्मपत्नी श्रीमती बिना राईलाई संम्वर्द्धऩा जनाइएको थियो। कार्यक्रमलाई सफल बनाउन स्थानीय समाजसेवी एवं समारोह समितिका सदस्यहरूको सक्रिय अवदान रहेको थियो। प्रदीप मगर, नरसिंह भूसाल, धनबहादुर छेत्रीलगायतका स्थानीय समाजसेवीहरूको नेतृत्वमा गाउँका युवाहरूले भव्यताका साथ कार्यक्रमलाई सफल तुल्याउन महत्त्वपूर्ण योगदान दिए। कार्यक्रममा वरिष्ठ साहित्यकार गोपालसिंह विश्व, भानुप्रकाश मार्मिक, अबीर खालिङ, अशोक रोका, शङ्कर प्रधान, मननारायण प्रधान, बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका अध्यक्ष मदन खड़्का, समाजसेवी केदार गजमेर, जलपाइगढ़ी जिल्ला परिषद सदस्य श्रीमती सलिना छेत्री, मूर्तिकार अमीर सुन्दास, बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक सागर शर्मा, समाजसेवी जेबी छेत्रीलगायत अन्य विशिष्ट व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो भने डुवर्सका विभिन्न ठाउँ, सिलगढ़ी, सिक्किम, असम आदिबाट पनि अतिथिगणको उपस्थिति रहेको थियो। विकास समितिका कोषाध्यक्ष राजेश प्रधानको स्वागत भाषणबाट शुरु भएको समारोहमा समितिका महासचिव रविन खवासको पनि उपस्थिति थियो। कार्यक्रममा सविन तामाङ, प्रशान्ति राई, प्रकाशचन्द्र शर्मा आदिले कविता वाचन गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *