खरसाङ: गोरामुमो दार्जिलिङ ब्राञ्चको महासचिव सन्दीप लिम्बुले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले ५ डेसिमल जमीनको पर्जा पट्टा ल्याउने के बाध्यता छ भनी गरेको प्रश्नको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको प्रवक्ता अनुप रामुदामुले उत्तर दिएका छन्। उनले एक भिडियो जारी गरेर कुरा ५ डेसिमल जमीनको होइन तर जनताले आस्था र भरोसा गरेर चुनेर पठाएपछि जनताको इच्छा र आकांक्षा पूरा गर्नु हाम्रो बाध्यता हो भनी बताएका छन्। उनले भागोप्रमोले जनताको भूमिका पट्टा नभएकोले जनताको लागि सरकारलाई कुरा बुझाएर ल्याएको हो र एकैचोटी सबै जमीनको पट्टा ल्याउने पनि पहल गरिरहेका छौं तर अहिलेलाई भएको पनि फ्याँक्नु भएन त्यसैले यो ५ डेसिमल जमीनको पर्जा पट्टा थाप्दै गर्नुपर्छ अनि भविष्यमा अरू जमीनको सबै पर्जा पट्टा थाप्नुपर्छ भनी बताएका छन्। अनुप रामुदामुले भने, ‘गोरामुमो नेता सन्दीप लिम्बुले कट मणिको कुरा गर्दै थिए तर कुनै एउटा राजनैतिक दलको नेता भएपछि वा ओहोदामा बसेर यस्तो बरमफुस्रे कुरा नगर्दा पनि हुन्छ किनभने तथ्य राखेर कुरा गर्नुपर्छ अनि तथ्यविहीन कुरा गरेर जनतालाई भ्रममा नपार्नु पर्ने सुझाव छ। बरू तपाईहरूको स्थायी राजनैतिक समाधान के भयो? छुट्टै राज्य खोई? २०१९ देखि हुन्छ भनेको खोई भएको ? दिल्लीको वार्ता खोई? तपाईहरूले पो जनतालाई लछेप्रै ढाँटेको छ त। तर हामीलाई किन दोष लगाउनु हुन्छ?”










