खरसाङ: चियाबारी क्षेत्रमा ५ डेसीमल जमीनको पर्जा पट्टा प्रदान गरिने विषयको विरोध जनाउँदै सत्यवान छेत्रीले आफ्नो विचार राखेका छन्। उनले ५ डेसिमल जमीनको विषयमा सिविटार चियाबारीको प्रसंगमा बोल्दै चियाबारी भएको जमीन र चियापत्ती नभएको खाली जग्गाको लागि कसले ग्यारेन्टी लिन्छ भनी प्रश्न गरेका छन्। उनले चियाबारी श्रमिकहरूलाई पर्जा पट्टा प्रदान गरिने भनिएको छ तर बगानमा श्रमिक नै नभएको घरको जमीनलाइ पट्टा के हुन्छ भनी प्रश्न गर्दै सिविटार चियाबारीको प्रसंग निकाले। सत्यावान छेत्रीले भने, ‘सिविटार चियाबारीमा ३५९ जना स्थायी श्रमिकहरू रहेको तर यहाँको जनसंख्या २१०० भन्दा बेसी रहेको अनि २०११ को गणना अनुसार सिविटाल चियाबारीमा ४७९ घरहरू रहेको र हालमा ७०० भन्दा बेसी घरहरू रहेका छन् अनि सिविटारमा ६० प्रतिशत मानिसहरू बगानमा कार्यरत् छैनन् तर केहीको घरमा ३-४ जना कार्यरत् छन्। त्यसैले बगानमा श्रमिक नभएको घरमा के हुन्छ? यो विषयमा यहाँको निर्वाचित पञ्चायत सदस्यहरू र समितिको सदस्य किन बोल्दैनन्? किन पार्टीको पछाड़ी मात्रै कुदेको ? जनताको लागि काम गर्नु पर्दैन? म पनि पञ्चायतमा उठेको थिए र १३१ भोट पाएकोले उनीहरूका लागि बोल्नुपर्छ भनेर बोलेको हो। तर जनताले जिताएका जनप्रतिनिधिहरू किन बोल्दैनन्?’
पूर्व गोजमुमो नेता एंव गोर्खाल्याण्ड आन्दोलनमा सक्रिय रहेका नेता सत्यावान छेत्रीले अघि भने, ‘एकजना नेताले ५ डेसीमलबाहेक अरू जमीनको जिम्मेवारी लिन्छु भनेको सुनियो तर आज तपाई हुनुहुन्छ अनि भविष्यमा तपाई चुनावमा हारेपछि कसले जिम्मेवारी लिन्छ? फेरि विकल्प खोज्नु भन्नुहुन्छ तर नेपाली भाषाको बद्ला त अर्को भाषा थोप्नु खोज्नु हुन्छ। कसरी विकल्प खोज्नु? कसरी विस्वास गर्नु? पर्जा पट्टा भनेको सानो कुरा होइन। यस विषयमा सिविटारकै उदाहरण लिनु पर्दा सिविटारको क्षेत्रफल ५१७ हेक्टर छ अनि चियाबारी क्षेत्र केवल १४८.९ हेक्टर मात्र छ। यो खाली जमीनको जिम्मा कसले लिन्छ अनि ५ डेसीमल जमीनको पट्टा थापेपछि खाली जमीनमा कसैलाई लिएर आउँदैन भन्ने कसले जिम्मा लिने? बरु हामी कागज पत्रबिना नै बसिरहेका थियौं।’
छेत्रीले अझ भने, ‘हामीले तपाईहरूलाई जिताएको जनताको लागि सरकारबाट केही गरिदियोस् भनेर हो तर सरकारको कुरा जनतालाई थोप्नु भनेर जिताएको होइन।’










