एशिया कपको निम्ति भारतीय टीममा फिट राहुल र अय्यरलाई स्थान, सेमसन बाहिर

IMG-20230821-WA0244.jpg

२१ अगस्तः एशिया कप क्रिकेट टुर्नामेण्टको निम्ति १७ सदस्यीय भारतीय टीमको घोषणा गरियो। चोटमुक्त भएर मैदानमा ओर्लिन तयार केएल राहुल र श्रेयस अय्यर जस्ता दुई स्टार ब्याटरलाई टीममा सामेल गरिएको छ। रोहित शर्मा कप्तानको भूमिकामा फर्किनेछन् अनि हार्दिक पाण्ड्या टीमका उपकप्तान हुनेछन्। यसबीच विकेटकीपर-ब्याटर सञ्जु सेमसनले चाहिँ टीममा स्थान पाएनन्। हालै वेष्ट इण्डिज विरुद्ध सीमित ओभरहरूको सीरीजमा प्रभावशाली प्रदर्शन गर्न नसकेका हुनाले सेमसनले टीममा स्थान बनाउन सकेनन्। उनले स्ट्याण्ड बाई विकल्पको रूपमा चाहिँ टीमसँग यात्रा गर्नेछन्। यसरी नै एशिया कपको निम्ति चयन गरिएको टीममा देब्रे हातका मीडलअर्डर ब्याटर तिलक वर्मालाई मौका दिइएको छ। नयाँ दिल्लीमा भएको चयन समितिको बैठकपछि कप्तान रोहित र मुख्य चयनकर्ता अजित अगरकरले १७ सदस्यीय टीमको घोषणा गरे। यी खेलाड़ीहरूले पाकिस्तान र श्रीलंकामा हुने महाद्वीपीय टुर्नामेण्टमा चुनौती पेश गर्नेछन्।
कप्तान रोहितको साथमा शुभमन गिलले ओपनिंग गर्नेछन्। त्यसपछि विराट कोहली रहेका छन्। चोटमुक्त भएर टीममा फर्किने अय्यर र राहुलले चौथो र पाँचौं नम्बरमा ब्याटिंग गर्ने सम्भावना छ। तल्लो क्रममा सूर्यकुमार यादव, तिलक वर्मा र इशान किशन पनि उपलब्ध छन्। अलराउण्डरको रूपमा टीममा हार्दिक, रविन्द्र जडेजा, अक्षर पटेल र शार्दुल ठाकुरलाई राखिएको छ। टीममा पेस आक्रमणको अगुवाई चोटमुक्त भएर आयरल्याण्ड यात्रामा रहने जसप्रीत बुमराहले गर्नेछन्। उनको साथमा मोहम्मद शमी र मोहम्मद सिराज रहनेछन्। यसको साथमा प्रसिद्ध कृष्णा पनि छन्। विशेषज्ञ स्पिनरको रूपमा कुलदीप यादवले स्थान पाएका छन्। लेग स्पिनर युजवेन्द्र चहलले चाहिँ टीममा स्थान पाएनन्। एशिया कप ३० अगस्तदेखि मुल्तानमा शुरु हुनेछ। यस साल टुर्नामेण्ट हाइब्रिड मोडलमा खेलिनेछ, जसको अधिकांश म्याच नै श्रीलंकामा हुनेछ। टुर्नामेण्टमा भारतले २ सेप्टेम्बरमा पाकिस्तान विरुद्ध म्याचको साथ आफ्नो अभियान शुरु गर्नेछ। पूर्व भारतीय क्रिकेटर अगरकरको अगुवाईमा रहने चयन समितिमा शिव सुन्दर दास, सुब्रतो ब्यानर्जी, सलील अंकोला र श्रीधरन शरथ पनि रहेका छन्। आज भएको चयन समितिको बैठकमा कप्तान रोहित र प्रशिक्षक राहुल द्रविड़ पनि उपस्थित थिए।
एशिया कपको निम्ति भारतीय टीमः रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, सूर्यकुमार यादव, तिलक वर्मा, इशान किशन, हार्दिक पाण्ड्या (उपकप्तान), रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद शमी, मोहम्मद सिराज, कुलदीप यादव र प्रसिद्ध कृष्णा।
स्ट्याण्डबाईः सञ्जु सेमसन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement