कालचिनीः नेपाली भाषाले भारतीय सम्विधानको आठौँ अनुसूचीमा अन्तर्भुक्ति पाएको ३१ बर्ष बितेर ३२ वसन्त टेकेको अवसरमा अनि भानु प्रणाम दिवस एवम् सृजनशील समूहको पाँचौँ स्थापना दिवसको उपलक्ष्यमा आइतबार कालचिनी खण्डको मेचपाड़ा चियाबारीमा भव्य कार्यक्रम सम्पन्न भयो। सो अवसरमा कालचिनी खण्डको भाषा संग्रामीहरूलाई सम्मान स्वरूप ढाका टोपी पहिराएर सम्मान प्रदान गरिएको थियो भने हालै नीट परीक्षा उत्तीर्ण मेचपाड़ा, भाटपाड़ा र बुखिमबारीका विद्यार्थीहरू क्रमैले सोयनाम लामा, रिता लामा र निधी लामालाई स्मृति चिन्ह प्रदान गरिएको थियो भने यसै क्रममा साताली चियाबारीको व्हील चेयर ब्याडमिन्टन खेलमा काँश्य पदक हासिल गर्ने दिव्याङ्ग शुभम विश्वकर्मा र युवा सचेतक नेत्रपसाद शर्मालाई सम्वर्द्धना प्रदान गरिएको थियो।

सो अवसरमा वरिष्ठ भाषा संग्रामी ललित न्यासुर, विनोद सुब्बा, मोहन विश्व, बाबुराम भट्टराई, शंकर राजपूत, दुर्गा चामलिङ, सागर राई देवान, कुमार गोलेलाई विशेष सम्मान प्रदान गरिएको थियो। कार्यक्रमको प्रारम्भमा दीप प्रज्वलन पश्चात भानुको सालिकमा श्रद्धाञ्जली अर्पण गरिएको थियो। विशिष्ट अतिथिहरूमा कालचिनी विधायक विशाल लामा लगायत विशिष्ट समाजसेवी पासाङ लामा, पवन योल्मोको प्रतिनिधि अमित सापकोटा, साहित्यकार आसबहादुर सुब्बा, दुर्गा चामलिङ, सागर राई देवान, विनोद सुब्बा, अनिल थापा, मोहन विश्व, कुमार गोले, डीबी वाईबा, डुवर्स नेपाली साहित्य सभा मदारीहाट बीरपाड़ाका साहित्यकार दिलीप शर्मा घिमिरे, किरण उपाध्याय, उमेश प्रधान, नेपाली साहित्य प्रतिष्ठान दलसिंहपाड़ाका कमल शर्मा, दुर्गा राई चामलिङ, लभकुमार भुजेल, राकेश शर्मा बीरपाड़ा हाम्रो समाजको प्रतिनिधि आकास प्रधान एवम् अन्यान्यको उपस्थितिमा विविध कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रम भव्यतापूर्ण सम्पन्न भएको बताउँदै मेचपाड़ा भानु सालिक संरक्षण कमिटीको पक्षबाट महिपाल सुब्बा र किरण गुरुङले सृजनशील समूहको आयोजनामा भएको कार्यक्रममा नै गत जुलाई महीनामा बाढ़को समयमा जुन संघ संस्थाहरूले सहयोग पुऱ्याएको थियो ती संघ संस्थाका प्रतिनिधिहरूलाई मायाको चिनो स्वरूप स्मृति चिन्ह प्रदान गरेर सम्मान दिएको जसमा मानव उत्थान सेवा समिति, बून इङ्गलिस स्कूल, तुलसीपाड़ा स्कूल, सहयोग फाउन्डेशन साथै पत्रकारहरू रहेको जनाएका छन्। कार्यक्रमलाई सफल बनाउन आयोजक कमिटी एवम् सृजनशील समूहको सदस्यहरू उर्गेन लामा अनूप लामा, मिलन माझी, बाबलु सापकोटा, अभय चामलिङ, आनन्द गुरुङ, श्यामल लामा, सञ्जोग लामा, चन्दन भुजेल, ज्ञानलाल दर्नाल, लगायत कवियत्री पद्मा शर्मा आँचल, मनिका लामा अनि स्थानीय स्वयंसेवकहरू अंकिता लामा, पूनम सुब्बा, सबनम सुब्बा, कामना गुरुङ आदिले मुख्य भुमिका निर्वाह गरेकोमा सृजनशील समूहको सचिव चन्दन भट्टराईले धन्यवाद ज्ञापन गरेका छन्।










