फिनिक्स उद्योग प्राइभेट लिमिटेडका मजदूरहरूको शिकायतको समाधान निकालियो

IMG_20220707_221346.jpg

गान्तोक: भारतीय जनता पार्टीको मजदूर मोर्चाको कार्यकारी अध्यक्ष हरि छेत्रीको नेतृत्वमा आज एउटा टोलीले कम्पनीको प्रबन्धन पक्षसँग हिजो र आज दुई दिन बैठक गरेर मजदूरहरूको शिकायतको समाधान निकालेको बताइएको छ। पाकिम जिल्ला अन्तर्गत रम्फू माझीटारस्थित फिनिक्स उद्योग प्राइभेट लिमिटेडबाट कर्मचारी छँटनी प्रक्रिया अन्तर्गत निकालिएका मजदूरहरूले आफ्नो सेटलमेण्ट, इपीएफ अनि इएसआईसी सम्बन्धी कम्पनीको प्रबन्धन पक्षबाट उचित चासो नदिएको भारतीय जनता पार्टीको मजदूर मोर्चासमक्ष शिकायत आएको थियो। गत दुई दिनदेखि ती कर्मचारीहरूले कम्पनीसमक्ष धरना दिइरहेका थिए।
यसैबीच मजदूर मोर्चाले यसमाथि हस्तक्षेप गर्दै समस्याको समाधान हेतु कम्पनी पक्षसित बैठक गरेको थियो। बैठकमा भाजपा पाकिम जिल्ला उपाध्यक्ष दिलीप राई अनि पश्चिम पाण्डामका मण्डल अध्यक्ष हेम कुमार गुरुङ पनि उपस्थित रहेको जानकारी प्रदेश भाजपाले प्रेस विज्ञप्तिमा दिएको छ। मोर्चा टोलीले कम्पनीको प्रबन्धन पक्षका प्रमुख एसपी सिंह अनि मजदूर ठेकादार अमर छेत्रीबीच महत्वपूर्ण बैठक गर्दै ती कर्मचारीहरूको माग अनुरूप अन्ततः कम्पनीले सबै सिकायतहरूको समाधान गरिदिने भएको छ। यस क्रममा कम्पनीले कर्मचारीहरूको वेतन, ग्राच्युइटी अनि बोनसको रकम पनि भुक्तान गरेको छ भने आगामी १० जुलाई सम्ममा इपीएफ र इएसआईसी सम्बन्धी प्रक्रियालाई पूरा गर्न मोर्चा टोलीले कम्पनी पक्षलाई दबाव दिएको छ। आफूहरूमाथि अन्याय परेको समयमा सहयोग र समस्याको शान्तिपूर्ण समाधानको निम्ति कर्मचारीहरूले भाजपा मजदूर मोर्चाप्रति आभार प्रकट गरेका छन्।
उल्लेख्य, भाजपा सिक्किम मजदुर मोर्चाले राज्यका औद्योगिक एकाईहरूमा मजदूरहरूप्रति भइरहेका अन्याय र अनियमितताहरूमाथि सदैव समाधानको पक्षमा कार्य गर्दै आइरहेको छ भने मजदूरहरूको पक्षमा विविध मागहरू पनि राज्य सरकार अनि केन्द्र सरकारसमक्ष राख्दै आएको बताइएको छ। विशेष गरेर मजदूरहरूको निम्ति राज्यमा ईएसआईसी अस्पताल, राज्यमा ईपीएफ कार्यालयको स्थापना गरिनुपर्ने मागहरूलाई प्रमुखताका साथ उठान गर्दै केन्द्र सरकारसमक्ष पत्राचार गरिसकेको छ। ईएसआईसी अस्पताल स्थापनाको निम्ति आज मात्र भाजपा सिक्किम महासचिव सुदीप प्रधानले केन्द्रिय श्रम तथा रोजगार राज्यमन्त्री रामेश्वर तेलीलाई ओडिसामा एक कार्यक्रममा भेटघाटको क्रममा ज्ञापन दिएको पनि विज्ञप्तिमा उल्लेख छ। भाजपा मजदुर मोर्चाले यस सम्बन्धमा चाँड़ै केन्द्र सरकार तथा मन्त्रालयबाट उचित पहल हुनेछ भन्ने विश्वास व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement