सिलगढीः स्थानीय नानीहरूलाई लिएर सिलगढी डाबग्राम-२ अवस्थित छोटाफाप्रीको सुनाखरी समाजले आज ३२औँ नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो। सुनाखरी समाजको साहित्य अनि संस्कृति विभागको संयोजनमा भएको उक्त कार्यक्रमलाई समाजका भूतपूर्व मूलसचिव चन्द्रबहादुर कार्कीले अध्यक्षता गरेका थिए।
आयोजक समाजका मूलसचिव दावा तामाङ, साहित्य विभागीय सचिव अनुप योञ्जन, युवाकवि मुकेश गिरी, शिक्षक लीलाबहादुर छेत्री अतिथिका रुपमा मञ्चासीन रहेको उक्त कार्यक्रम समाजका वर्तमान तथा पूर्व पदाधिकारीगण लगायत स्थानीय भाषा-साहित्यानुरागीहरूको उपस्थिति थियो। दिवङ्गत भाषा सङ्ग्रामीहरूप्रति श्रद्धाञ्जली अर्पणको साथमा आरम्भ गरिएको उक्त कार्यक्रममा नानीहरूले भाषा सम्बन्धी स्वागत गीत प्रस्तुत गरे।
सांस्कृतिक विभाग सचिव सुनिता तामाङले स्वागत मन्तव्य गरिन्। नानीहरूको उपस्थिति र सहभागितामाथि जोड दिइँदै आयोजना गरिएको उक्त कार्यक्रमको आरम्भ अन्तरक्रियात्मक रुपमा गरिएको थियो। जहाँ लीलाबहादुर छेत्रीले नेपाली भाषा र यसको मान्यताको निम्ति गरिएको सङ्घर्षबारेमा नानीहरूसित अन्तरक्रिया गरे। त्यस क्रममा छेत्रीले यस प्रकारको बाल केन्द्रित कार्यक्रमको आयोजना भाषाको प्रयोगको दृष्टिकोणले पनि प्रभावकारी हुन सक्ने बताए।
कार्यक्रममा मुकेश गिरी, अनुप योञ्जन, आदिले नानीहरुलाई नेपाली भाषाको महत्त्व र संरक्षणको बारेमा सचेत गराउने प्रयास गरे। भाषाको विकास र संरक्षणका लागि भावी पिँढीलाई सजग र सचेत बनाइराख्न पर्ने आवश्यक्तामाथि दुवै वक्ताले जोड दिए। थप आकर्षक बनाउन कार्यक्रममा नेपाली भाषा आधारित नानीहरू लगायत अभिभावकका निम्ति प्रतिस्पर्धात्मक कार्यक्रमको साथमा कार्यशाला पनि आयोजना गरिएको थियो।
नानीहरूको निम्ति हाजिरी-जवाफ प्रतियोगितासहित उखान, टुक्का अनि गाँउ खाने कथाबारे जानकारी पनि राखिएको थियो। जुन कार्यक्रमको सञ्चालन देवराज थापा अनि दिवस दाहालले गरेका थिए। कार्यक्रममा विद्यार्थीद्वय निनोर भोटिया र सुभम कुण्डुले पनि भाषाबारे आफ्ना विचारहरू राखे। समग्रमा राजा काफ्लेद्वारा सञ्चालित सुनाखरी समाजको निजी भवनमा आयोजित उक्त कार्यक्रममा अध्यक्षीय मन्तव्यको क्रममा चन्द्रबहादुर कार्कीले यस्ता कार्यक्रमबाट विद्यार्थीहरू बढी लाभान्वित बन्न सक्ने बताए।











