खरसाङमा ३२औं नेपाली भाषा मान्यता दिवस

IMG-20230820-WA0259.jpg

आफ्नो भाषालाई माया र सम्मान गर्नुपर्छ: कल्पना प्रधान

खरसाङ: गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा ३२औं नेपाली भाषा मान्यता दिवस साथै सम्मान अनि शैक्षिक योग्यता पुरस्कार अलङ्करण समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रम पुस्तकालयको सभापति पूर्ण गुरुङ निरूपमको अध्यक्षता र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको मातृ अनि शिशु कल्याण विभागकी कार्यकारी सभासद कल्पना प्रधान उपस्थित थिइन्। त्यसरी नै विशिष्ट अतिथिको रूपमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, सभासद नुरी शेर्पा, प्राध्यापक गङ्गाप्रसाद भट्टराई, जोगेन्द्र प्रसाद, खरसाङ नगरपालिकाको पूर्व चेयरम्यान समीरदीप ब्लोन उपस्थित रहेका थिए। कार्यक्रमको शुरुमा अतिथिहरूका बाहुलीबाट धुप दीप प्रज्वलन साथै दिंवगत भाषा संग्रामीहरू साथै शैक्षिक पुरस्कारको लागि प्रायोजकहरूका परिवारका दिंवगत सदस्यहरूका स्मृतिमा श्रध्दाञ्जली अर्पण गर्दै मौन धारण गरिएको छ। कार्यक्रमा स्वागत सम्भाषण पुस्तकालयको मूल सचिव विनोद रसाईलीले राखेका थिए। त्यसरी नै कार्यक्रममा सूचना अनि सांस्कृतिक विभागका कलाकारहरूले स्वागत गीत प्रस्तुत गरेका थिए। कार्यक्रमलाई शिक्षिका गोमा सुब्बाले सञ्चालन गरेका थिए। कार्यक्रममा नेपाली भाषा मान्यता दिवसको उपलक्ष्यमा ‘भाषा मान्यता र नेपाली भाषाको वर्तमान अवस्था’ विषयमा प्राध्यापक गङ्गाप्रसाद भट्टराईले वार्ता प्रस्तुत गरेका थिए। आफ्नो वार्ता प्रस्तुत गर्दै उनले सन् १९०१ मा पाद्री गंगाप्रसाद प्रधानले गोर्खे खबर कागत् प्रकाशित गरेसितै नेपाली भाषाको महत्व बुझ्न थालिएको हो र नेपाली भाषा आन्दोलनको बीजारोपण पनि भएको हो र यदि गोर्खे खबर कागत् प्रकाशित नभएको भए नेपाली भाषा आन्दोलन अझैं पछि मात्र हुने थियो होलाभनी बताए। उनले भने, ‘नेपाली भाषामा पहिलो कृत सन् १९०७ मा प्रकाशित भएको हो र नेपाली भाषामा पहिलो विशुध्द साहित्यिक पत्रिका चन्द्रिका हो। नेपाली भाषाले मान्यता पाए पनि हामीले कतिको प्रयोग गर्दैछौं त्यो सोच्ने कुरा हो।’
उनले अघि भने, अहिलेसम्म सरकारले हामीलाई दिएको भनेको केवल नेपाली भाषा मात्र हो जुन ठोस रूपमा दिएको छ। यसको लागि हामीले गर्व गर्नुपर्छ। तर नेपाली भाषाको प्रयोग भने बेसी छैन। पहाड़मा भाषाको नाममा आन्दोलन भयो। फेरि पनि दार्जिलिङ पहाड़मा भाषामाथि अतिक्रमण हुँदैछ। सेकेण्ड ल्याङ्गेज थोप्ने प्रयास हुँदैछ। यसको प्रत्येक संघ संस्थाले विरोध गर्नुपर्छ। नेपाली भाषा मान्यता दिवस ठूलो रूपमा मनाउनुपर्छ। तर आज मात्रै होइन अरू दिन पनि मनाउनुपर्छ ताकि जसले हामीलाई अर्को भाषा थोप्नु खोज्दैछ उसलाई मेसेज पुगेको होस्।’

यसै कार्यक्रममा पुस्तकालयको वरिष्ठ सतस्यहरू क्रमैले पूर्ण गुरुङ निरुपम र सुदर्शन अम्बटेलाई पुस्ताकालयको पक्षमा सम्मान जनाइएको छ। यस क्रममा पुस्तकालयको वर्तमान सभापति पूर्ण गुरुङ निरूपम जसले जीटीएबाट नाट्य क्षेत्रमा प्रदान गरिने डीबी परियार स्मृति पुरस्कार हालैमा पाएको खुशीमा पुस्तकालयद्वारा सम्मान गरियो। पुस्तकालयको सदस्य एंव वरिष्ठ साहित्यकार सुदर्शन अम्बटेलाई बाल साहित्य अकादमी पुरस्कारक लागि सम्मान जनाइएको छ। दुवैलाई सभाध्यक्ष र प्रमुख अतिथिको बाहुलीबाट खदार्पणसहित नेपाली टोपी पहिराएर साथै अभिनन्दन पत्र प्रदान गरेर सम्मान गरिएको छ। कार्यक्रममा विभिन्न शैक्षिक पुरस्कारहरू पनि प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै जीटीएको कार्यकारी सभासद कल्पना प्रधानले प्रत्येकले नेपाली भाषालाई माया गर्नुपर्छ अनि बिहान उठेकोदेखि बेलुकासम्म नेपाली भाषामा नै बोल्नुपर्छ। हामीले आफ्नो नेपाली भाषालाई माया गर्नुपर्छ अनि घरदेखि नै भाषाको प्रयोग गर्नुपर्छ भनी बताइन्। उनले भनिन् -‘भाषालाई माया गर्नुपर्छ, सम्मान दिनुपर्छ, व्यवहारिक रूपमा प्रयोग गर्नुपर्छ। भाषा मान्यतामा सबैको आफ्नो आफ्नो योगदान छ अनि खरसाङमा विशेष गरेर टीएस गुरुङ र प्रेम प्रधानक बहुमूल्य योगदान रहेको छ।’
कार्यकारी सभासद कल्पना प्रधानले अघि भनिन् -‘भाषा मान्यता २० अगस्तदेखि ३१ अगस्तसम्म मनाउँदा पनि हुन्छ कारण २० अगस्तमा संसदमा बील पारित भएपछि ३१ अगस्तमा तत्कालीन राष्ट्रपतिले हस्ताक्षर गरेका थिए।’ उनले अझ भनिन् -‘यसपाली जीटीएले जीटीएको सभामा नेपाली भाषा मान्यताको दिनलाई जीटीए क्षेत्रमा सरकारी छुट्टीको घोषणा गरेका छन्। यो अहिलेसम्म कसैले गर्न सकेको थिएन। तर जीटीए चिफ् अनित थापाको अगुवाईमा नेपाली भाषा मान्यताको महत्व र यस विषयमा सबैले बुझोस् भनेर सरकारी छुट्टीको घोषणा गरिएको छ। अब प्रत्येक बोर्ड र होर्डिङतिर अंग्रेजी, हिन्दी, बंगाली भाषामा लेखिए पनि अन्तिममा नेपालीमा पनि अनिवार्य रूपमा लेखिनुुपर्छ। हामीले प्रत्येक पत्र, निवेदन र सरकारी कार्यालयतिर सरकारी तौरमा नेपाली भाषा नै प्रयोग गरिनुपर्छ।’ उनले भाषाको आधारमा साम्राज्य बनिन्छ अनि भारतमा भाषाको आधारमा राज्यहरू बनिएको छ र हाम्रो छुट्टै राज्य पनि एकदिन भाषाको आधारमा हुनेछ भनी आशा व्यक्त गरिन्। कार्यक्रममा सभाध्यक्ष पूर्ण गुरुङ निरूपमले आफ्नो अध्यक्षीय सम्भाषणमा सबैलाई धन्यवाद दिएका छन्। आजको भाषा मान्यता दिवस विषयमा पत्रकारहरूसित कुरकानी गर्दै गोर्खा जनपुस्तकालयको मूल सचिव विनोद रसाईलीले विस्तृत रूपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement