चिन्तन भवनमा भाषा मान्यता दिवस भव्यरूपमा पालन

IMG-20230820-WA0295.jpg

भाषा संग्रामीहरूको पूर्व सरकारले मूल्याङकन गरेन्: मुख्यमन्त्री तामाङ

गान्तोक: नेपाली साहित्य परिष्दले आज राजधानीको चिन्तन भवनमा ३२औं नेपाली भाषा मान्यता दिवस भव्यताको साथमा पालन गऱ्यो। आजको कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रुपमा उपस्थित थिए भने शिक्षा मन्त्री केएन लेप्चा, धर्म विभागीय मन्त्री सोनाम लामा, विधायक वाईटी लेप्चा, विधायिका राजकुमारी थापा, विधायिका सुनिता गजमेर लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। नेपाली साहित्य परिषदका अध्यक्ष हरी ढुङ्गेलको औपचारिक स्वागत सम्बोधनसँगै शुरु भएको कार्यक्रममा साहित्यकार सुवास सोताङले नेपाली भाषाको मान्यता आन्दोलनको विस्तृत इतिहास अनि नेपाली भाषाको वर्तमान अवस्थानबारे आफ्नो वार्ता प्रस्तुत गरे।

यसै कार्यक्रमबीच कथाकार कवि प्रविण राई जुमेलीलाई कञ्चनजंगा अगम स्मृति पुरस्कारले पुरस्कृत गरियो। उनलाई मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलिबाट प्रशस्ती पत्र, दोसल्ला अनि पुरस्कार राशीले अलंकृत गरियो। यसरी नै सिक्किम विश्वविद्यालयबाट नेपाली विषयमा सर्वोत्कृष्ट अंक ल्याउने रतन राईलाई पनि मुख्यमन्त्री तामाङको बाहुलीबाट प्रेमलाल स्मृति शैक्षिक पुरस्कारले पुरस्कृत गरियो भने गान्तोकमा आदिकवि भानुभक्तको पूर्णाङ्ग सालीग निर्माण गर्नको निम्ति विशेष पहल गर्ने त्रिमूर्ति डा. एचपी छेत्री, राज के श्रेष्ठ अनि भुपेन्द्र अधिकारीलाई मुख्यमन्त्रीको बाहुलीबाट विशेष संबर्द्धना जनाइयो।

यसको साथै आजको कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट नेपाली साहित्य परिष्दका पूर्व अध्यक्षहरूलाई पनि सम्मानित गरियो। सम्मानित व्यक्तित्वहरू नेपाली साहित्य परिशदका संस्थापक अध्यक्ष राज के श्रेष्ठ, पद्मश्री सानु लामा, प्रद्युन्न श्रेष्ठ, सानुभाइ शर्मा, कुवेर चन्द्र दाहाल, बीके रोका, चुड़ामनी खतिवड़ा अनि रुद्र पौड़्याल रहेका छन्। यसरी नै साहित्य अकादमीको नेपाली भाषा परामर्ष समितिको संयोजकको रुपमा चयनित डा. एसडी ढकाललाई पनि आज मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट सम्मान जनाइयो। कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाली भाषालाई संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त गराउनको निम्ति आन्दोलनमा होमिएका सम्पूर्ण भाषा संग्रामीहरूलाई श्रद्धा सुमन श्रद्धाञ्जली अर्पण गरे। यसरी नै आन्दोलमलाई निर्णायक मोड़मा पुऱ्याएर फत्ते गराउने तत्कालिन सिक्किममा मुख्यमन्त्री नरबहादुर भण्डारी अनि तत्कालिन सांसद दिलकुमारी भण्डारीलाई पनि उनले सम्झना गर्दै उनीहरूको योगदानको सराहना गरे। नेपाली भाषा अन्य भाषाहरूभन्दा धेरै धनाड़्य रहेपनि, यो भाषामा अन्य भाषा अनुकरण गर्ननसक्ने ठेट शब्दहरूको भरमार भएपनि यो भाषाले मान्यता प्राप्त गर्न धेरै लामो समय लागेको उनले बताए। तर सिक्किमका तत्कालिन सिक्किम सरकार अनि तत्कालिन मुख्यमन्त्री भण्डारीको ठूलो योगदानले गर्दै यो सम्भव हुनसकेको अनि त्यो दिन साँच्चै सम्पूर्ण नेपालीभाषी भारतीयहरूले न्याय पाएको मुख्यमन्त्री तामाङले बताए। तर समस्त नेपाली भाषीहरूलाई न्याय दिलाउनको निम्ति कार्य गर्ने व्यक्तित्वहरूको भने २५ वर्ष लामो समयमा कुनै मुल्याङ्कन हुन नसकेकोमा उनले दुःख व्यक्त गरे। नेपाली भाषाले संविधानको आठौं अनुसूचीमा मान्यता प्राप्त भएपछि भाषाले जुन प्रकारको उचाइ प्राप्त गर्नुपर्ने थियो पूर्व सरकारले त्यो हुननदिएको उनले किटान गरे। राजनीतिक द्वन्दको कारण नेपाली भाषा पेलिनु परेको कटु सत्य मुख्यमन्त्री तामाङले उजागर गरे। तर वर्तमान सरकारले नेपाली भाषा अनि यसले मान्यता प्राप्त गरेको दिनलाई भाषा विकासको निम्ति मनन गर्ने दिनको रुपमा पालन गर्न थालेको उनले बताए। अब सबै मिलेर नेपाली भाषाको व्यवहारिक प्रयोगमा ध्यान दिनुपर्ने अवसर आएको पनि मुख्यमन्त्री तामाङले आग्रह गरे। नेपाली भाषाको व्यवहारिक प्रयोग अनि यसको प्रचार प्रसार अनि संरक्षणको जिम्मेवारी प्रत्येक नगारिकको रहेको बताउँदै यसको निम्ति सरकारले संघ संस्थाहरूलाई सहयोग पुऱ्याउने पनि प्रतिबद्धता व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement