भाषा संग्रामी धनसिंह मोक्तान प्रज्ञा सम्मानद्वारा सम्मानित
खरसाङ: गत वर्ष खरसाङमा स्थापना भएको प्रज्ञा साझा मञ्चमञ्चले आइतबार (२० अगस्त) ३२औं नेपाली भाषा मान्यता दिवस प्रज्ञा सम्मान कार्यक्रम आयोजना गरेर भव्य रुपमा हर्षोल्लासपूर्वक पालन गर्योl खरसाङका वरिष्ठ समाजसेवक नागरिक पण्डित तुलसी अधिकारी मुख्य अतिथि रहेको यो कार्यक्रम खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक हलमा सम्पन्न भएको थियोl प्रज्ञा साझा मञ्चका अध्यक्ष रमेश थापाको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा दार्जीलिङ पहाडी भेकका सुपरिचित लेखक धनसिंह मोक्तानलाई दोस्रो प्रज्ञा सम्मानद्वारा सम्मानित गरियोl उनले नेपाली भाषा मान्यताको आन्दोलनमा भूमिका निर्वाह गरेका थिएl नेपाली भाषा-साहित्य र भाषा आन्दोलनमा निर्वाह गरेको भूमिकालाई कदर गर्दै उनलाई प्रज्ञा सम्मानद्वारा सम्मानित गरिएको होl दार्जीलिङ निवासी भाषा आन्दोलनका संग्रामी धनसिंह मोक्तानलाई नेपाली, शल, पुष्पगुच्छा, कदर पत्रसहितको स्मृति चिन्ह प्रदान गरेर मुख्य अतिथि, प्रज्ञा साझा मञ्चका अध्यक्ष, संरक्षक र विशिष्ट अतिथिको बाहुलीबाट प्रज्ञा सम्मानद्वारा सम्मानित गरियोl सम्मान जनाउनअघि मञ्चका सदस्य प्रितम छेत्रीले उनको परिचय प्रस्तुत गरे भने श्रीमती मीना राईले सम्मान पत्र पढेर सुनाइन्l
श्रीमती रचना ‘अनाकार’द्वारा संचालित कार्यक्रममा प्रज्ञा साझा मञ्चकी सचिव श्रीमती उषाकिरण ‘सत्यदर्शी’ले स्वागत भाषणमा मञ्चको उद्देश्यबारे संक्षिप्तमा बताइन्l श्रीमती उषाकिरण ‘सत्यदर्शी’कै पहलमा गत वर्ष स्थापना कालदेखि नै समाजमा नेपाली भाषा-साहित्य, संस्कृतिलाई प्रवर्द्धन गर्न, अनि ओझेलमा परेका स्रष्टा र सर्जकहरूलाई २० अगस्त नेपाली भाषा मान्यता दिवसकै दिन प्रज्ञा सम्मानद्वारा सम्मानित गर्ने परम्परा शुरु गरेको छl गत वर्ष प्रज्ञा साझा मञ्चले आफ्नो पहिलो कार्यक्रममा नेपाली भाषा आन्दोलनका अग्रणी संग्रामी सन्त मेरिज, खरसाङ निवासी बुद्धिमान प्रधान ‘बमप’लाई पहिलो प्रज्ञा सम्मानद्वारा सम्मानित गरेको थियोl
आइतबार सम्पन्न भएको कार्यक्रममा प्रज्ञा साझा मञ्चका संरक्षक समाजसेवक टी टी लामा र सिलगढीका सुपरिचित साहित्यकार गणेश भण्डारी विशिष्ट अतिथिका रुपमा उपस्थित थिएl यस कार्यक्रममा सुपरिचित संगीतकार-गायक महेश्वर लामाले गीत अनि नमस्ते खरसाङ टीभी च्यानल र आकाशवाणी खरसाङका समाचार वाचक सिल्भेस्टर लेप्चाले नृत्य प्रस्तुत गरेर कार्यक्रममा रौसिलो वातावरण जमाएl यसका साथमा कविता पनि वाचन गरिएको थियोl सुपरिचित लेखक ऋषि राईले भाषा मान्यता दिवसबारे वार्ता प्रस्तुत गर्दै नेपाली भाषा प्रयोगका लागि विशेष प्रमुखता दिनुपर्ने बताएl विशिष्ट अतिथि र संरक्षकद्वारा गायक साथै नृत्य कलाकारलाई सम्मान गरियो भने सुरेन कटुवालले धन्यवाद ज्ञापन गरेl











