२०८औं भानु जयन्ती भिन्न प्रकारले पालन गर्ने तयारीमा नेपाली साहित्य परिषद्

IMG-20220707-WA0167.jpg

नेपालीसँगै भोटिया अनि लेप्चा हस्तीहरूलाई पनि भाषा गौरव सम्मानले सम्मान जनाइने

गान्तोक: नेपाली साहित्य परिषद्ले आदिकवि भानुभक्त आचार्यको २०८औं जन्म जयन्ती भिन्न प्रकारले यसपाली आयोजन गर्ने जमर्को गरेको छ। यसपटक भानु जयन्तीमा नेपालीसँगै भोटिया अनि लेप्चा भाषा साहित्यमा कार्य गर्ने दुईजना हस्तीहरूलाई पनि भाषा गौरव सम्मानले सम्मान जनाउने आज साहित्य परिषद्का अध्यक्ष रुद्र पौड्यालले घोषणा गरेका छन्। भाषा गौरव सम्मान भोटिया भाषाको निम्ति दोर्जी रिञ्जिङ भोटिया अनि लेप्चा भाषाको निम्ति ओटी लेप्चालाई प्रदान गरिने उनले थप जानकारी गराएका छन्। यस वर्षदेखि शुरु गरिएको यो पहल निरन्तर जारी रहने अध्यक्ष पौड्यालले अवगत गराए।

जानकारी गराइन्छ, यस वर्षको भानु पुरस्कार वरिष्ठ साहित्यकार केएन शर्मालाई प्रदान गरिने भएको छ भने भाषा संग्रामी श्रीमती दिलकुमारी भण्डारीलाई गत वर्षको भानु पुरस्कार पनि यसपाली नै प्रदान गरिने कार्यक्रम रहको छ। कोरोनाको कारण गत वर्ष यो कार्यक्रम स्थगित भएको थियो।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाली साहित्य परिषद्का अध्यक्ष रुद्र पौड्यालले विश्वकै पहिलो पूर्ण भानुभक्तको सालिग सिक्किममा निर्माण भएको जानकारी गराए। उक्त स्थल भानु उद्यान केन्द्रमा वर्तमान सरकारले स्थायी रूपमा छानो लगाउने कार्य गरिदिएको उल्लेख गर्दै अध्यक्ष पौड्यालले यसको उद्घाटन भानुजयन्तीकै अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट हुने अवगत गराए। सो दिन त्यहाँबाट शोभायात्रा निकालेर बजारको परिक्रमा गर्दै मनन केन्द्रमा आएर कार्यक्रममा परिणत हुने उनले थप अवगत गराएका छन्।

आजको पत्रकार सम्मेलनमा समारोह समितिका सल्लाहकार सुश्री पवित्र भण्डारी, नेपाली साहित्य परिषदका अध्यक्ष एवं समारोह समितिका कार्यकारी अध्यक्ष रुद्र पौड्याल, परिषद्का महासचिव निलम न्यौपाने, परिषद्का उपाध्यक्ष एवं समारोह समितिका समन्वयक हरि ढुंगेलको उपस्थिति रहेको थियो। आयोजन समारोह समितिका अध्यक्ष राज्यका पर्यटन मन्त्री बीएस पन्त रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement