२० अगस्तः क्रिकेटको सबैभन्दा छोटो प्रारूपमा कुनै पनि टीमलाई हल्कामा लिन सकिँदैन। टी२० प्रारूपमा कुनै पनि टीमले जीत हासिल गर्न सक्छ अनि यो कुरा शनिवार राति सटीक साबित भयो। संयुक्त अरब अमीरात (यूएई)-ले दोस्रो टी२० अन्तर्राष्ट्रिय म्याचमा न्यूजील्याण्डलाई ७ विकेटले पराजित गरी इतिहास रच्यो। यो यूएई-को न्यूजील्याण्ड विरुद्ध कुनै पनि प्रारूपमा पहिलो जीत हो। कागज कलममा यी दुई टीमबीच कुनै तुलना हुँदैन कारण आईसीसी टी२० ऱ्यांकिंगमा न्यूजील्याण्ड तेस्रो अनि यूएई १६औं स्थानमा रहेको छ तर शनिवार आफ्नो होम ग्राउण्डमा आयोजक टीमले कीवि टीमलाई स्तब्ध बनायो। यस ऐतिहासिक जीतको साथै यूएई-ले तीनवटा टी२० म्याचको सीरीजमा १-१-को बराबरी हासिल गऱ्यो। सीरीजको तेस्रो म्याच आइतवार खेलिनेछ।
दुबई इण्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर यूएई-ले न्यूजील्याण्डलाई पहिला ब्याटिंग गर्न पठायो। न्यूजील्याण्डले खराब शुरुवातपछि २० ओभरमा ८ विकेट गुमाएर १४२ रन बनायो। अधिकांश सीनियर खेलाड़ीहरू बिना यूएई यात्रामा जाने न्यूजील्याण्डको टीम एक समय केवल ६५ रनमा ५ विकेट गुमाएर चेपारोमा परेको थियो तर मार्क चापम्यानले ६३ रन बनाएर टीमको सम्मान बचाए। चापम्यानले ३ वटा छक्का र ३ वटा चौकाको साथ ४६ बलमा ६३ रन बनाए। यसबाहेक ओपनर चाड बोवेस र जेम्स नीशमले २१-२१ रनको योगदान दिए। यूएई-का बलरहरूमा आयान अफजल खानले सर्वाधिक ३ र मुहम्मद जावादुल्लाहले २ विकेट लिए। जवाफमा यूएई-ले २६ बल बाँकी रहँदै ३ विकेटमा १४४ रन बनाएर म्याच जित्यो। कप्तान मुहम्मद वसीमले ४ वटा चौका र ३ वटा छक्काको साथ २९ बलमा ५५ रनको म्याच जिताउने ईनिंग्स खेले। यसबाहेक आसिफ खानले अविजित ४८ र वृत्य अरविन्दले २५ रनको योगदान दिए। म्याचमा ३ विकेट हासिल गर्ने आयान अफजल खानलाई प्लेयर अव् द म्याच चयन गरियो।










