मुख्यमन्त्री तामाङद्वारा नेपाली भाषा मान्यता दिवसको शुभकामना

golay_138

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिह तामाङले सम्पुर्ण सिक्किमेली जनसमुदायप्रति नेपाली भाषा मान्यता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उऩले आफ्नो सन्देशमा भारतीय संविधानको आठौं अनुसूचीमा नेपाली भाषालाई मान्यता दिलाई अन्तर्भुक्त गराउने महत अभियानमा समर्पित सम्पूर्ण वरिष्ठजनलाई सम्झना गरेका छन्।

आजको दिन हर्षोल्लास, गर्व अनि आनन्दले पुलकित भएको दिन हो भन्दै एकता र अखण्डताको अनमोल दृष्टान्त बन्दै समग्रताको एक सुत्रमा बाँधिएर सबैलाई सहयोग पुर्‍याउदै, एक मत भएर निरन्तर अघि बढ्ने प्रण गरौं भनी उल्लेख गरे।

हाम्रो भाषा सञ्चारको माध्यम मात्र होइन; यो हाम्रो संस्कृति, परम्परा, सम्पदा र पहिचानको अमुल्य भण्डार हो, मुख्यमन्त्रीले भने। भारतको संवैधानिक अनुसूचीमा नेपाली भाषालाई समावेश गरेपछि, हामीले हाम्रो महान राष्ट्रभित्र भाषिक विविधताको महत्त्वलाई स्वीकार गर्ने दिशामा एक महत्वपूर्ण कदम चालेका छौं, उनले भने। मुख्यमन्त्रीले भनेअनुसार यो मान्यताले समावेशीता र बहुलवादका मूल्यहरूलाई सहयोग गर्ने हाम्रो अटल समर्पणलाई सङ्केत गर्दछ जुन हाम्रो देशको अखण्डतालाई कायम राख्न सधैं प्रतिबद्ध छ। विभिन्न इतिहासका पानाहरूले हाम्रा पुर्खाहरूले हाम्रो भाषाको संरक्षण र मान्यताका लागि वीरतापूर्वक लडेका र सो अभियानमा गरेका बलिदानहरूको सम्झना गराउँछन्। उहाँहरूको संघर्षले आजको सामुहिक उत्सवको लागि मार्ग प्रशस्त गरेको छ, यो उत्सव उहाँहरूको अटल संकल्प र योगदानप्रति अर्पण गरिएको भावपूर्ण श्रद्धांजली हो, उनले भने। यस अवसरमा, भाषिक सद्भावको सार आपसी सम्मान र समझदारीमा निहित हुन्छ भन्ने कुरा पनि स्मरण गरौं भन्दै हाम्रो आफ्नो भाषालाई सम्मान गर्दै हाम्रा छिमेकी, बन्धु-वान्धवको मातृभाषाको पनि आदर-सत्कार गरि उहाँहरुको भाषाको प्रबर्द्धनको लक्ष्यमा पनि हातेमालो गरि अघि बढ्ने वाचा गरौं भनी बताएका छन्। हाम्रो राज्यमा एउटा अनुकुल अनि सौहार्दपूर्ण वातावरण सिर्जना गर्न पूर्ण प्रतिबद्धता दर्शाएर अघि बडी रहेका छौँ जहाँ प्रत्येक भाषालाई आदर-सम्मान गरिन्छ, सबैको संस्कृति परम्परालाई पूर्ण सहयोग अनि सम्मान गरिन्छ।

हामी सबैको बीचमा सांस्कृतिक आदानप्रदान र समझदारीको लागि मार्ग प्रशस्त गर्दै भाषिक विविधता फस्टाउने वातावरण निर्माण गर्ने दिशामा काम गरौं भनी सबैमा आह्वान पनि गरेका छन्। शिक्षित अनि पारंगत विद्वान-विदुषी, शिक्षाविद्, भाषाविद्, संस्कृतिप्रेमी लगायत भाषाको संरक्षण अनि सम्बर्द्धनका लागि योगदान पु¥याउनुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दै उनले भाषिक एकता र विविधताको ज्योति हामी माझ साझा गर्दै नयाँ जोश, जांगर, उमंग अनि हौसलाका साथ हाम्रो यात्रा जारी राखौं अनि सदैव धर्म निरपेक्षता र साम्प्रदायिक सद्भावनालाई शिरोधार्य गरि आ-आफ्नु कार्यक्षेत्रमा निरन्तरता दिउँ भनी आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement