गान्तोकः राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको दिशानिर्देश बमोजिम आज जोरथाङस्थित कर्फेक्टारमा एक समन्वय सभा सम्पन्न भयो। यस सभा आयोजना गरिनुको मुख्य विशेषता गत १ जुलाईको दिन जोरथाङस्थित माझीगाउँमा निरन्तर परेको पानीले पुऱ्याएको क्षतिबारे चर्चा परिचर्चा गर्नु रहेको थियो। सभामा लाइन विभागका अधिकारीवर्ग, सम्वन्धित विभागका अधिकारी र स्टेक होल्डर्सको उपस्थिति ररहेको थियो। राज्यको शहरी विकास विभागको पहलमा आयोजित कार्यक्रमको अध्यक्षतामा क्षेत्र विधायक सुनिता गजमेरले गरेकी थिइन्। सभामा विभिन्न विभागका कूल ६६ जनाले अंशग्रहण गरेका थिए।
आजको सभामा विशेष गरेर जोरथाङको डाँडागाउँ, उत्तर त्रिकलेश्वर र माझी गाउँमा पानी बग्ने नालाको समस्यामाथि चर्चा परिचर्चा गरियो। उक्त अवसरमा हितधारकहरूले यस प्रकारको सभामा राज्य सरकारले हितधारकहरूलाई पनि प्राथमिकता दिएर आफ्नो सुझाउ राख्ने अवसर प्रदान गरेकोमा सरकार प्रति कृतज्ञता प्रकट गऱ्यो। शहरी विकास विभागका प्रमुख अभियन्ताले विचारको लागि सरकारलाई प्रस्ताव पेश गर्नको लागि अस्थायी समयरेखाको साथ कार्य योजना शुरू गरिनु पर्ने सुझाउ दिए। यसै क्रममा क्षेत्र विधायक सुनिता गजमेरले सरकार स्थानीयहरूलाई गुणस्तरीय जीवन प्रदान गर्नको निम्ति गम्भीर रहेको बताउँदै जोरथाङको सबै समस्या शीघ्र समाधान हुन सक्ने आशा व्यक्त गरिन्।









