गान्तोक। राज्यका विभिन्न क्षेत्रमा रूची राख्ने विद्यार्थी साथै आम मानिसहरूलाई प्रेरित गर्ने उद्देश्यले सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) विद्यार्थी प्रकोष्ठले रिड एण्ड ग्रो सिजन-२ कार्यक्रम भव्यरूपमा पालन गर्ने भएको छ। दुई दिवयी यस कार्यक्रम राजधानीस्थित मनन केन्द्रमा आयोजना हुने आयोजक पक्षले जानकारी गराएको छ। आज राजधानीस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लोकसभा सांसद इन्द्र हाङ सुब्बाले मनन केन्द्रमा सम्पन्न हुने दुई दिवसीय कार्यक्रमको रूपरेखाबारे विस्तृतरूपमा पत्रकारहरूलाई जानकारी गरे। उनले बते अनुसार दुई दिवसीय कार्यक्रम अन्तर्गत पहिलो दिन मनन केन्द्रको मिनिहल,पुस्तकालय र ठूलो हलमा विभिन्न प्रकारको कार्यक्रम एकै साथ शुरू हुने जानकारी गराएको छ। जसमा प्यानल डिस्कसन कन्टेम्पोरेरी ट्रेण्ड हिमालय राइटिङको आयोजना गरिएको भने सो कार्यक्रममा सत्यदीप छेत्री, पंकज गिरी, अजित बराल रहनेछन् भने यसको सञ्चालन अनुराग बस्नेतले गर्ने भएका छन्। सिक्किममा कस्तो विषयमा अबोप्रान्त साहित्य लेखिनुपर्छ भन्नेबारेमा चर्चा परिचर्चा गरिने भएको छ। यसरी नै नेपाली लेखकहरूको समकालिन नेपाली साहित्य केही दृष्टिकोणबारे चर्चा गरिने छ, जसमा साहित्यकार छुदेन काविमो, अजित बराल, कवि राजा पुन्यानीले कविता वाचन गर्ने सांसद सुब्बाले अवगत गराए। सोही प्रकारले दोस्रो दिनको कार्यक्रममा चलचित्र र थिएटरमाथि कार्यशालाको आयोजना गरिने भएको छ। सोही प्रकारले सांस्कृतिक नृत्य प्रतियोगिताको पनि आयोजना गरिने बताए। यसरी नै राज्य सरकारद्वारा शुरू गरिएको नाट्य प्रतिभा मञ्चमा आमा, बहिनी र वातस्लय योजनाबारे नाटक प्रदर्शन गरिने भएको छ। सोही प्रकारले आफ्नो सम्बोधनमा विधायक अदित्य गोलेले बर्खाको मौसम भएको कारण आयोजक समितिले आउट डुवर कार्यक्रम आयोजना गर्न असमर्थ बनेको बताए। तीन चार वर्ष निरन्तर यो कार्यक्रमको आयोजना गरेपछि राज्यस्तरीय गर्ने पनि सोंच बनाएको उनले अवगत गराए। यो कार्यक्रम विशेष गरेर नयाँ पीढिलाई ध्यानमा राख्दै साहित्य, संस्कृति, चलचित्र आदिको क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी गराए। उनले सो कार्यक्रमलाई सफल तुल्याउनको निम्ति सबैलाई आइदिने आग्रह पनि गरे। यस अवसरमा विद्यार्थी प्रकोष्ठका अध्यक्ष सोनम छोपेल शेर्पाले आफ्नो सम्बोधनमा सर्वप्रथम गत वर्ष आयोजना गरेको यस कार्यक्रममा धेरै जनाले पुस्तक दान गरेकोमा धन्यवाद दिँदै इच्छुक महानुभावहरूले पुस्तक दान गर्न सक्ने बताए। रिड एण्ड ग्रो-पहिलो कार्यक्रममा मंगन जिल्लाको दुर्गम क्षेत्रमा यसका साथै पश्चिम जिल्लाको पनि दुर्गम क्षेत्रमा पुस्तकालय स्थापना गर्न सफल बनेको जानकारी गराए। यस अवसरमा प्रकोष्ठका मुख्य समन्वयक कर्मा टाशी भोटिया, उपाध्यक्ष छिरिङ वाङचुक लेप्चाले पनि सम्बोधन गरेका थिए।