गान्तोकः गेजिङ जिल्ला अन्तर्गत योक्सम टाशीडिङको हेलिपेडमा १९औं माङ सावन तोङनाम पालन गरियो। परम् पावन सिक्कुम सियोङ सेप्सिङ युमा माङको विशेष उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि सहभागिता जनाए। मुख्यमन्त्रीले पवित्र युमा माङको आशीर्वाद ग्रहण गरे। शुरुमा कार्यक्रम आयोजक समितिद्वारा मुख्यमन्त्रीलाई स्वागत जनाएपछि मुख्यमन्त्री तामाङले माङहिम पुगेर पूजा अर्चना गर्दै पवित्र सिक्कुम सियोङ सेप्सिङ युमा माङको दर्शन गर्दै राज्यका जनताको शान्ति सुरक्षा, कल्याण र समृद्धिका लागि आशीर्वाद ग्रहण गरे।
कार्यक्रममा वाईएमएमसीसी योक्सम शाखाका अध्यक्ष बुद्धहाङ सुब्बाले स्वागत सम्बोधन राख्दै अनुष्ठान आयोजनाको लागि मुख्यमन्त्रीले गरेको सहयोग र उनले पुऱ्याएको योगदानबारे अवगत गराउँदै मुख्यमन्त्रीप्रति कृतज्ञता प्रकट गरे। उनले मुख्यमन्त्रीलाई सबै धर्ममाथि समदृष्टि राख्ने आध्यात्मिक व्यक्तित्वका रूपमा प्रशंसा गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले यस आध्यात्मिक कार्यक्रममा आफूलाई पनि सहभागी हुने अवसर प्रदान गर्दै निम्तो दिएकोमा आयोजक पक्षलाई धन्यवाद दिए। उनले आध्यात्मिक विचार प्रकट गर्दै नेताहरूले पनि राजनीतिलाई धर्मका रूपमा ग्रहण गर्नुपर्ने विचार प्रकट गरे। सरकारले चार वर्षको अवधिभित्र युमा माङको मन्दिर निर्माण गरेको बताए। वर्तमान सरकार गठन हुनमा युमा माङको पनि विशेष आशीर्वाद रहेको उनले बताए।

पूर्व सरकारले हो भने यस्ता धार्मिक स्थलको निर्माणका लागि चुनाउको समयमा आश्वासन दिने गरेको थियो, तर वर्तमान सरकारले त्यसो नगरेर समयमा नै यसको निर्माण गरेको उनले किटान गरे। सिक्किमका जनताले दुःख नपाओस् भन्ने उद्देश्यका साथ सरकारले काम गरिरहेको पनि उनले आफ्नो मन्तव्यमा बताए। सरकारले गरीब, बिरामी, विद्यार्थी लगायत आवश्यक व्यक्तिहरूलाई सहयोग गर्दै आइरहेको अवगत गराए। सरकारले भर्खरै घोषणा गरेको श्रवण कुमार पुरस्कारका बारेमा पनि उपस्थित समूहलाई मुख्यमन्त्रीले जानकारी गराए। योक्सममा अवस्थित युमा माङहिमलाई पनि संस्कृति विभाग अधिनस्थ निर्माण गरिने घोषणा गरे।









