१९ अगस्तः अन्तिम पंघालले शुक्रवार इतिहास रच्दै लगातार दुईपल्ट अण्डर २० विश्व खिताब जित्ने भारतकी पहिलो महिला पहलवान बन्ने गौरव हासिल गरिन्। अन्तिमले जोर्डनको अम्मानमा भएको विश्व च्याम्पियनशीपमा ५३ किग्रा वर्गमा विश्व खिताब जितिन्। सविताले पनि ६२ किग्रा वर्गमा खिताब जितिन् अनि भारतीय महिला टीमले यस खेलको इतिहासमा पहिलोपल्ट विश्व च्याम्पियनशीप टीम खिताब जित्यो। प्रिया मलिकले बिहीवार ७६ किग्रा वर्गमा खिताब जितेकी थिइन्। यसपाली भारतका ७ जना पहलवानले पदक जितिन्, जसमा तीनवटा स्वर्ण पदक सामेल छ। अन्तिम कुंडू (६५ किग्रा)-ले रजत अनि रीना (६७ किग्रा), आरजू (६८ किग्रा) र हर्षिता (७२ किग्रा)-ले काँस्य पदक जितिन्।
हरियाणाको हिसार निवासी अन्तिम पंघालले युक्रेनकी मारिया येफ्रेमोवालाई ४-०-ले पराजित गरी खिताब जितिन्। उनले पूरा टुर्नामेण्टमा असाधारण प्रदर्शन गरिन् अनि केवल २ पोइण्ट्स गुमाइन्। यसरी उनले एशियन गेम्सको ट्रायलको निम्ति विनेश फोगाटलाई चुनौती दिनु उनको अति आत्मविश्वास थिएन भन्ने पनि साबित गरिन्। गत वर्ष उनी जूनियर विश्व च्याम्पियनशीपमा खिताब जित्ने पहिलो भारतीय महिला पहलवान बनेकी थिइन् अनि अहिले सीनियर स्तरमा पनि खेलिरहेकी छन्। सविताले ६२ किग्रा वर्गको फाइनलमा भेनेजुएलाकी ए पाओला मोण्टेरो चिरिनोसलाई तक्निकी श्रेष्ठताको आधारमा पराजित गरिन्। उनले पहिलो राउण्डपछि ९ पोइण्ट्सको बढ़त हासिल गरेकी थिइन् अनि दोस्रो राउण्डको शुरुवातमै एक पोइण्ट पनि नगुमाइ जीत हासिल गरिन्। यसरी रीनाले ५७ किग्रा वर्गमा कजाखस्तानकी शुगीला ओमिरबेकलाई ९-४-ले पराजित गरिन्। उनले दुई दिन अघि रेपेशेज चरण जितेर पदकको होड़मा स्थान बनाएकी थिइन्। अन्तिम कुण्डूलाई फाइनलमा स्थानीय खेलाड़ी एनिको एलेकेसले ९-२-ले पराजित गरिन्। हर्षिताले मोलदोवाकी एमिलिया क्रेसियुनलाई पराजित गरी भारतलाई अझ एउटा पदक दिलाइन्।









