खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा बिदाई समारोह साथै विद्यालयको ७५ औं वर्षगाँठ समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रम विद्यालयको शिक्षक प्रभारी देवेन्द्र लामाको अध्यक्षता र बिदाई शिक्षकद्वय लिलासिंह र टिकादत्त गिरीको विशेष उपस्थितिमा सम्पन्न भएको छ। सन् १९४७ सालमा स्थापना भएको तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको ७५ वर्ष पुगेको अवसरमा गत वर्ष १५ अगस्त २०२२ देखि शुरु भएको एक वर्षीय डाईमण्ड जुपली समारोहको आज समापन सम्पन्न भएको छ। कार्यक्रममा स्वागत सम्भाषण शिक्षक बिदुर प्रधानले राखेका थिए भने कार्यक्रमलाई शिक्षिका रञ्जना प्रधानले सञ्चालन गरेका थिए। कार्यक्रमको शुरुमा बिदाई शिक्षकद्वयको बाहुलीबाट धुप दीप प्रज्वलन गरिएको थियो भने विद्यार्थीहरूले स्वागत गीत प्रस्तुत गरेका थिए। त्यसरी नै शिक्षिका रञ्जना प्रधानद्वारा लिखित अनि शिक्षक दिवाकर शंकरद्वारा संगीतबध्द स्कूलको गीत शिक्षक शिक्षिकाहरूले प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले गीत, कविता, नृत्य प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा स्कूलमा विगत २५ वर्षभन्दा लामो समयदेखि कार्य गरिरहेका शिक्षक शिक्षिकाहरू क्रमैले बिक्रम मंगर, देवेन्द्र लामा, रञ्जना छेत्री, सञ्जुली छेत्री र अशिक्षण कर्मीहरू क्रमैले सुकचन्द्र लिम्बु, राजेस शेर्पा आदिलाई स्मृति चिन्ह्र प्रदान गरेर सम्मान गरिएको छ। यस अवसरमा स्कूल सञ्चालन समितिको सभापति रामबहादुर गजमेर, सचिव अमीत प्रधान र अन्य सदस्यहरूका बाहुलीबाट प्रदान गरिएको थियो भने सबैको स्मृति चिन्ह शिक्षक बिमल शेर्पाले पठन गरेका थिए। यस अवधिको कार्यक्रमलाई शिक्षक देवेन मंगरले सञ्चालन गरेका थिए। यसै कार्यक्रममा विद्यालयको पूर्व प्रधान अध्यापक लिला सिंह र पूर्व शिक्षक टिकादत्त गिरीलाई बिदाई दिइएको छ। दुवैलाई स्कूलको पक्षमा खदार्पणसहित नेपाली टोपी पहिराउँदै सम्बर्ध्दना पत्र साथै शल ओढ़ाएर सम्मान गरिएको छ। दुवैलाई शिक्षक प्रभारी देवेन्द्र लामा र स्कूल सञ्चालन समितिको पदाधिकारीवर्गको बाहुलीबाट सम्मान जनाइएको छ। कार्यक्रममा शिक्षक टिकादत्त गिरी सम्बर्ध्दना पत्र शिक्षक देवेन मंगर र लिला सिंहको सम्बर्ध्दना पत्र शिक्षिका इन्दु शर्माले पठन गरेका थिए। बिदाई शिक्षक लिलासिंहको जन्म १ फरवरी १९६३ मा भएको थियो। उनले सन् १९८४ मा विशुध्द विज्ञानमा स्नातक गरेका थिए। पछिबाट एमएससी गरेका थिए। उनले १९८५ मा जुब्ली जुनियर हाई स्कूलबाट शिक्षण पेशा शुरु गरेका थिए भने १९८६ मा धजे जुनियर हाई स्कूल अनि ९ जुलाई १९९१ सालदेखि तीनधारे हाई स्कूलमा काम गरेर १ जुन २०१८ देखि प्रधान अध्यापकको पदमा रहेर काम गरी आधिकारिक रूपमा १ फरवरी २०२३ देखि अवकाशप्राप्त भएका थिए। त्यसरी नै शिक्षक टिकादत्त गिरी ( उत्तम सर) को जन्म २ फरवरी सन् १९६३ मा तीनधारेको राजबारीमा भएको थियो। उनले १९८२ सालमा दार्जिलिङको सरकारी महाविद्यालयबाट जीव विज्ञानमा स्नातक गरेका थिए। उनले सन् १९८७ सालदेखि तीनधारे हाई स्कूलमा शिक्षकको रूपमा काम थालेका थिए। उनले विभिन्न संघ संस्थाहरूसित आवध्द रहेर विभिन्न सामाजिक कार्यहरूसितै फुटबल खेलको उन्नतिको लागि काम गरिरहेका छन् भने उनी पूर्व फुटबल खेलाड़ी र निर्णायक पनि हुन्। उनी
१ मार्च २०२३ देखि आधिकारिक रूपमा अवकाशप्राप्त भएका थिए। कार्यक्रममा बिदायी शिक्षकद्वय लिला सिंहले सम्बोधन गर्दै हामी सरकारी नियममा मात्र अवकाशप्राप्तवभएको हो तर सम्बन्धमा तपाईहरूदेखि टाड़ो भएको होइन भनी बताए। उनले स्कूलमा हाम्रो आवश्यकता परेको खण्डमा हामी सदैव तयार छौं भन्दै यो कार्यक्रम एकदम राम्रो भएको ल स्कूलप्रति आभार प्रकट गरेका छन्। 

त्यसरी नै उत्तम गिरीले आफ्नो वक्तव्यमा नानीहरू अनुशासनमा बसेको राम्रो जसले गर्दा ठूलो ओहोदामा पुराउँछ भनी बताउँदे विद्यार्थीहरूले पढ़ाईसितै सर्वाङ्गीन विकासमा ध्यान दिनुपर्छ भनी बताए। उनले यस विद्यालयमा एघारौं श्रेणीदेखि विज्ञान विषयमा पनि पढ़ाई हुन अावश्यक रहेको र यस विषयमा काम गर्न सुझाव राखेका छन्। उनले विद्यार्थीहरूले पढाईमा फोकस गर्नुपर्छ किनभने शिक्षा नै धन हो अनि विद्यार्थीहरू कुलततिर नपरेर राम्रो बाटोमा लागेर नाम कमाएको खण्डमा हामी खुशी हुनेछौं भनी बताएका छन्।
								



								

															
                    


