खरसाङ: जीटीए चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी नवराज छेत्रीले बिजय हाँसिल गरेर सभासद बनेकोमा आज माध्यमिक शिक्षक संगठन तीनधारे सुकना सर्कलद्वारा सम्बर्ध्दना जनाइएको छ। उक्त सम्बर्ध्दना कार्यक्रमलाई शिक्षक देवेन्द्र लामाले अध्यक्षता गरेका थिए। उक्त सम्बर्ध्दनामा नवनिर्वाचित सभासद नवराज छेत्रीलाई खदार्पणसहित फूलगुच्छा प्रदान गर्दै प्रशस्ती पत्र प्रदान गरेर सम्बर्ध्दना जनाइएको छ। उनलाई माध्यमिक शिक्षक संगठन तीनधारे सुकना सर्कलको सभापति प्रवीण राईको बाहुलीबाट प्रदान गरिएको छ। प्रशस्ती पत्र शिक्षिका सञ्जुली छेत्रीले पठन गरेकी थिइन् भने कार्यक्रमलाई शिक्षिका रञ्जना प्रधानले सञ्चालन गरेकी थिइन्।

यसै कार्यक्रममा भोलेन्टियर्स शिक्षक शिक्षिकाहरूले पनि खदार्पणसहित फूलगुच्छा र स्मृति चिन्ह प्रदान गरेर नवनिर्वाचित सभासद नवराज छेत्रीलाई सम्मान जनाएका छन्। यसै कार्यक्रममा तीनधारे सुकना सर्कलभित्र पर्ने ७ वटा स्कूलका प्रधान अध्यापक, प्रधान अध्यापिका, स्कूलको प्रतिनिधिहरू, शिक्षक शिक्षिकाहरू, अशिक्षण कर्मचारीहरू लगायत भोलेन्टियर्स शिक्षक शिक्षिकाहरू उपस्थित भएर सबैले आफ्नो आफ्ने स्कूलको समस्याहरू सभासद समक्ष राखेका थिए। सबैको समस्याहरू सुनेर नवनिर्वाचित सभासद नवराज छेत्रीले आफुले कुनै विभाग पाएन भने पनि शिक्षा क्षेत्रमा प्रथम प्राथमिकता दिएर कार्य गर्ने र सबैको समस्याहरू समाधान गर्नलाई पहल गर्ने बचन दिएका छन्। उनले आफुले सबैको समस्याहरू समाधान गर्नलाई कार्य गर्ने बताएका छन्।
यसपाली प्रथमपल्ट भूमिपुत्र सभासद पाएकोले स्थानीय शिक्षा क्षेत्रमा रहेको विभिन्न समस्याहरू समाधान हुने आशा व्यक्त गरिएको छ।