नयाँ दिल्ली: इंग्ल्याण्डका प्रधानमन्त्री ऋषि सुनक मंगलबार मोरारी बापुको रामकथामा सहभागी भए। यो रामकथा इंग्ल्याण्डको क्याम्ब्रिज विश्वविद्यालयमा भइरहेको छ। यहाँ सुनकले आफू प्रधानमन्त्रीको हैसियतमा नभई हिन्दूका रूपमा कथामा सामेल भएको बताए। सो क्रममा उनले जय श्री रामको नारा पनि लगाएका थिए। ऋषि सुनकले भने, ‘धर्म मेरो लागि व्यक्तिगत हो। यसले मलाई जीवनको हरेक पक्षमा मार्गदर्शन गर्छ। प्रधानमन्त्री हुनु सम्मानको कुरा हो तर यो सजिलो काम होइन। यहाँ तपाईंले कठोर निर्णयहरू लिनुपर्छl’
उनले भने, ‘धर्मले मलाई देशका लागि उत्कृष्ट काम गर्न साहस र बल दिन्छ। रामले मलाई सधैं प्रेरणा दिनुहुन्छ। उनीहरूले जीवनका चुनौतीहरूलाई साहसका साथ सामना गर्न, नम्रताका साथ शासन गर्न र नि:स्वार्थ रूपमा काम गर्न सिकाउँछन्l’ उनले थपे, ‘म चान्सलर हुँदा दीपावलीमा ११ डाउनिङ स्ट्रिट बाहिर दीप प्रज्वलन गर्नु मेरो लागि विशेष क्षण थियो। मलाई हिन्दु हुनुमा गर्व छ र ब्रिटिश हुनुमा पनि गर्व छl’ ऋषि सुनकले पनि रामकथामा आफ्नो बाल्यकाल सम्झे। उनले भने, ‘बाल्यकालमा स्थानीय मन्दिर जान्थ्यौं त्यहाँ मेरो परिवारले हवन, पूजा र आरती गर्थे। यसपछि म दाजुभाइ र दिदीबहिनीलाई प्रसाद बाँड्ने गर्थेl’ सुनकले रामायणसँगै भगवद् गीता र हनुमान चालिसा पनि पछ्याउने गरेको बताए।









