खरसाङ: रोटरी क्लब खरसाङ, लायन्स आई सेन्टर खरसाङ अनि कुम्हालटार कल्याण संघको संयुक्त तत्वावधानमा अम्बटे चिया बगानको कुम्हालटारमा स्वस्थ्य जाँच शिविर सम्पन्न भएको छ। ७७औँ स्वतन्त्रता दिवसको अवसरमा सम्पन्न गरिएको यो स्वस्थ्य जाँच शिविरमा खरसाङ महकुमा अस्पतालका वरिष्ठ साधरण रोग विशेषज्ञ डाक्टर पीके मुखर्जी अनि डा अतुल जैसवाल अनि तक्निसियनहरूले मानिसहरूको स्वस्थ्य जाँच गरेका थिए। यस शिविरमा १ सय २२ जना रोगीहरूले आफ्नो स्वस्थ्य जाँच गराएका थिए, जसमध्ये ८९ वर्षका एक वृद्ध रोगी पनि आफ्नो स्वस्थ्य जाँच गराउन उपस्थित थिए। तिनी रक्तचाप र मधुमेहले ग्रसित रहेका थिए। यो शिविरमा स्वस्थ्य जाँच गराएका रोगीहरू मध्ये औषधि सेवन गर्न आवश्यक रहेका रोगीहरूलाई निःशुल्क औषधि वितरण गरिएको थियो।

शिविरमा अप्टोमेट्रिक्ट दिनेश त्रिवेदी अनि तिनका सहयोगीशुभा मण्डलले रोगीहरूको आँखा जॉंच गरेका थिए। आँखाका रोगीहरू मध्ये चार जनालाई मोती बिन्दु रहेको चिन्हित गरियो। आवश्यक परेका आँखाका रोगीहरूलाई पनि निःशुल्क औषधि अनि चश्मा प्रदान गरियो। शिविरमा आफ्नो कान जचाउन आएका रोगीहरू मध्ये श्रवण शक्ति कमजोर रहेका रोगीहरूलाई श्रवण यन्त्र अर्थात हेयरिङ एड प्रदान गरियो। शिविरलाई सफलता पूर्वक सम्पन्न गराउनको निम्ति कुम्हालटार कल्याण संघका सदस्यहरूले सक्रियताको साथमा सहयोग गरेका थिए। यो शिविरमा रोटरी क्लब खरसाङका वरिष्ठ सदस्यहरू रोटेरियन पासङ शेर्पा, खेमराज राई, प्रदीप गुरुङ, विश्वास वन्सल, सञ्जीव प्रधान लगायत क्लबका अध्यक्ष विनय जैन, सचिव समीम अलीको उपस्थिति रहेका थिए। समाजसेवी दिनेश प्रधान अनि सिलगढ़ीबाट आएका ध्रुव प्रधानले पनि शिविरमा विशेष सहयोग पुऱ्याएका थिए।

रोटरी क्लब खरसाङका अध्यक्ष विनय जैन अनि सचिव समीम अलीले यो शिविरको निम्ति सहयोग गरेकोमा खरसाङ महकुमा चिकित्सा अधिकारी रुमी मण्डल, विशेषज्ञ डाक्टरहरू, शिविरलाई सफलता पूर्वक सम्पन्न गराउन सहयोग गर्ने अन्य सबैलाई धन्यवाद दिएका छन्। तिनीहरूले यस प्रकारको समाज सेवाको कार्यहरू रोटरी क्लबले निरन्तर गर्दै आएको बताउदै आगामी दिनमा पनि यो कार्य जारी रहने बताए भनी क्लबका पूर्वाध्यक्षा इन्दिरा थापा गुरुङले जानकारी दिएका छन्।











