खरसाङ: तीनधारेको गोलाई पाखास्थित मित्र संघद्वारा ७७औं स्वतन्त्रता दिवस पालनसितै सफाई अभियान पनि सम्पन्न गरेका छन्। ढिलो गरी प्राप्त खबर अनुसार मित्र संघ गोलाईमा रहेको सार्वजनिक भवन परिसरमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रीय झण्डा संघको सदस्यद्वय कालुमान राई र दोर्जे तामाङको बाहुलीबाट उत्तोलन गरिएको छ।

मित्र संघको सभापति मसीह प्रकाश मोक्तानको अध्यक्षता र सचिव राजेस सेवाको सञ्चालनमा सम्पन्न कार्यक्रममा ७७औं स्वतन्त्रता दिवस विषयमा घैयाबारी ग्राम पञ्चायत दुईकी पञ्चायत प्रधान भगवती प्रधानले वक्तव्य राखेका थिए। उनले स्वतन्त्रताको लागि बलिदान दिने देशको वीर संग्रामीहरूका सम्झना गरिन्।

त्यसरी नै संघको सभापति मसीह प्रकाश मोक्तानले पनि वक्तव्य राखेका थिए। स्वतन्त्रता दिवस कार्यक्रमपछि मित्र संघको सबै सदस्य सदस्याहरूद्वारा सर सफाई अभियानमा भाग लिएका थिए।

यस क्रममा मित्र संघ भवनको वरिपरि, एनएच ५५ नजिकतिर, दोकान पाखा, भुले गाउँ जाने बाटो, गोलाई पाखा, अप्पर गोलाई, भानु ग्राम, अस्पताल पाखा, गोलाईदेखि अस्पताल जाने डाँड़ाको बाटो अादि क्षेत्रको सर सफाई गरिएको छ।

त्यसरी नै रेलवे अस्पताल मुनितिर रहेको झार जंगल पनि सर सफाई गरिएको जानकारी मित्र संघ गोलाईको सांस्कृतिक सचिव ईशान्त विश्वकर्मले दिएका छन्।











