(अपडेट) आमा-बाबुको हेरचाहप्रति समर्पित छोराहरूलाई श्रवण कुमार पुरस्कार प्रदान गरिने

si-9

गान्तोकः आफ्ना आमा-बाबुको निस्वार्थ सेवा, सम्मान र हेरचाह गर्ने छोरा-छोरीलाई सिक्किम सरकारले प्रत्येक वर्ष १५ अगस्तको दिन ‘श्रवण कुमार पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ। मंगलवार राजधानी गान्तोकको पाल्जर स्टेडियममा आयोजित ७७औँ स्वतन्त्रता दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले सो घोषणा गरेका थिए।

मुख्यमन्त्रीको उक्त घोषणालाई साकार रूप दिँदै आधिकारिक रूपमा लागू गर्न राज्यको गृह विभागले आज एक अधिसूचना जारी गरेको छ। अधिसूचनामा पुरस्कार स्वरूप प्रदान गरिने नगद राशिबारे जानकारी गराइएको छ।

अधिसूचना अनुसार, पहिलो पुरस्कार १५ लाख, दोस्रो पुरस्कार १० लाख अनि तेस्रो पुरस्कार ५ लाख रूपियाँ प्रदान गरिने छ। पुरस्कार व्यवस्थापनका लागि नोडल विभाग राज्य सरकारको समाज कल्याण विभाग रहने र सोही विभागले यसका लागि आवश्यक नियम बनाउने पनि जारी नयाँ अधिसूचनामा उल्लेख गरिएको छ।

उक्त पुरस्कार घोषणा गर्दै मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा आधुनिक युगमा, आमाबाबु कहिलेकाहीं आफ्ना छोरा-छोरीहरूको हेरचाहको कमीमा वृद्ध आश्रममा बस्न बाध्य हुन्छन्, तर यो अवधारणा हाम्रो सांस्कृतिक मानदण्डहरूमा छैन भनी बताए। त्यसैले हाम्रा परम्परागत मूल्य मान्यतालाई संरक्षित गर्न श्रवणकुमार पुरस्कार शुरू गर्न लागिरहेको उनले बताए।

यसको अतिरिक्त मुख्यमन्त्रीले राज्यका बुजुर्गहरूप्रति आफ्नो चिन्ता व्यक्त गर्दै गान्तोक शहरको पुरानो एसटीएनएम अस्पताल परिसरमा एक कल्याण केन्द्र स्थापना गरिने पनि घोषणा गरे। यो केन्द्रले उपचारको विकल्प प्रदान गराउनका साथै वृद्ध-वृद्धालाई समय बिताउने ठाउँ उपलब्ध गराउने मुख्यमन्त्रीले बताएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement