कालचिनीः प्राक्रतिक होस् वा मानव निर्मित तथा सृजित आपदा वा प्रकोपको समय समुदायलाई चाहिने न्युनतम सेवा एमआईएसपी उपलब्ध गराउन फेमिली प्लानिङ एसोसिएशन अफ इन्डियाले भारतभरीका १८ वटा राज्यहरू एवम् एउटा यूनियन टेरिटोरीहरूमा प्रायः ४५ वटा एफपीएआईका शाखाहरूले एसआरएच अर्थात सेक्सुअल रिप्रोडक्टिभ हेल्थलाई लिएर काम गर्दै आईरहेको र यही विषयलाई विभिन्न एनजीओ, जीओ लगायत ग्रामीण स्वास्थ्य कर्मी, युवा स्वयंसेवकहरू एवम् समाजसेवीहरूलाई समेटेर बिहीबार फेमिली प्लानिङ एसोसिएशन अफ इन्डियाका कालचिनी शाखाले एउटा प्रशिक्षण शिविरको आयोजना गऱ्यो। सो प्रशिक्षण शिविरमा अलिपुरद्वार जिल्लाका आपदा प्रबन्धन विभागका अधिकारी सोनाली विस्वास लगायत एनजीओ कर्मी निता धर, डा. कमल कुजूर, युवा समाजकर्मी निमेष लामा एफपीएआई कालचिनी शाखाका काउन्सिलर छन्दा चक्रवर्ती एवम् अन्यान्यको उपस्थिति रहेको थियो।
मूलतः सेक्सुअल रिप्रोडक्टिभ हेल्थ (एसआरएच) को निम्ति मिनिमम इनिसियल सर्भिस प्याकेज अर्थात एमआईएसपीको जानकारी विभिन्न एनजीओ, जीओ र स्वास्थ्य कर्मीहरू मार्फत समुदायलाई दिन सकियोस् यसैको निम्ति एफपीएआई कालचिनी शाखाले यो प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको एफपीएआई कालचिनी शाखाका काउन्सिलर छन्दा चक्रवर्तीले जनाएकी छन्। प्रशिक्षण शिविरमा हरेक आपदामा समुदायभित्र महिलाहरू यौन हिंसाबाट प्रताड़ित हुन परेको र यो हिंसा घरको लोग्ने स्वास्नीबीच पनि हुँदै आईरहेको र यसमा महिलाहरूको सेक्सुअल रिप्रोडक्टिभ हेल्थलाई ध्यानमा राखेर काम गर्नुपर्ने हुनाले एफपीएआईले एमआईएसपी मार्फत सेवा पुऱ्याउन सदैव तत्परता कसेको र यसैको जानकारी समुदायमाझ सम्प्रेषण गर्न विभिन्न एनजीओ, जीओ, हेल्थ कर्मी, युवा स्वयंसेवकहरू एवम् समाजकर्मीहरूलाई समेटेर यसको प्रशिक्षण एवम् कार्यशाला गरिएको एफपीएआई कालचिनी शाखाको काउन्सिलर छन्दा चक्रवर्तीले थप जनाएकी छन्।










