खरसाङ: खरसाङ महाविद्यालयको ५७औं स्थापना दिवस समारोह सम्पन्न भएको छ। उक्त स्थापना दिवस खरसाङ कलेजको प्राचार्य डा समीर बलको अध्यक्षता र प्रमुख अतिथिको रूपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यापल अनित थापा उपस्थित रहेका थिए। कार्यक्रमको शुरुमा प्रमुख अतिथि जीटीए चिफ् अनित थापाको बाहुलीबाट खरसाङ महाविद्यालय परिसरमा झण्डा उत्तोलन गरिएको छ भने महाविद्यालय परिसरमा निर्माण गरिएको संस्थापक सदस्यहरूको सालिगमा खदार्पणसहित श्रध्दाञ्जली अर्पण गरिएको छ। कार्यक्रमको दोस्रो चरणमा कलेजको हलमा सम्पन्न कार्यक्रममा खरसाङ कलेज स्थापनाको संस्थापक सदस्यहरू डीबी छेत्री, पीटी लामा, डीएन प्रधान, एनएन प्रधान (पहिलो प्राचार्य) लगायत अन्यको सम्झना गर्दै तस्वीरमा धुप दीप प्रज्वलन गरी श्रध्दाञ्जली अर्पण गरिएको छ। कार्सक्रममा स्वागत सम्भाषण कलेजका प्राध्यापक साथै कलेजको सांस्कृतिक उप समितिको संयोजक मानाबिन्दु दासले राखेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा साउथ फिल्ड कलेज दार्जिलिङकी प्राचार्य डा. अनुराधा राई, आशा मुखिया लामा, सभासदद्वय श्याम शेर्पा, अनोश थापा, पूर्व प्राध्यपिकाद्वया रुकमणि छेत्री, लक्ष्मी प्रधान लगायत अन्यहरू उपस्थित रहेका थिए। कार्यक्रममा कलेजका प्राचार्य डा समीर बलले कलेजको वार्षिक रिपोर्ट प्रस्तुत गर्दै वर्षभरि कलेजले गरेका विभिन्न कार्यहरू, क्रियाकलापहरू र उपलब्धिहरू विषयमा विस्तृत रूपमा बताएका छन्। यसै कार्यक्रममा कलेजको पक्षबाट जीटीए चिफ् अनित थापा, साउथ फिल्ड कलेजकी प्राचार्य डा. अनुराधा राई, सभासदद्वय अनोश थापा र श्याम शेर्पालाई पनि सम्मान गरिएको थियो। त्यसरी नै पीएचडी प्राप्त गरेका कलेजको प्राध्यापकद्वय डा. सपन प्रधान र प्रशान्त सरकारलाई पनि सम्मान गरिएको छ।

कार्यक्रममा कलेजका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्सक्रमहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले कलेजको गीत, मारुणी नृत्य, क्लासिकल नृत्य, नेपाली लोक गीत, सांगीतिक प्रस्तुति दिइएको थियो। कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित जीटीएको मुख्य कार्यपाल अनित थापा र विशिष्ट अतिथि डा. अनुराधा राईले वक्तव्य राखेका थिए। कार्यक्रमलाई प्राध्यापक डा सपन प्रधान र प्राध्यापिका बिजयता प्रधानले सञ्चालन गरेका थिए भने धन्यवाद ज्ञापन प्राध्यापक उपेन्द्र अधिकारीले राखेका थिए। सन् १९६७ सालमा स्थापना भएको खरसाङ महाविद्यलयको ५७औं स्थापना दिवस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै कलेजका प्राचार्य डा. समीर बलले विस्तृत रुपमा जानकारी गराएका छन्।









