फुलमाया प्रधान फुटबल टुर्नामेन्टको खिताब आदर्श गाउँको झोलीमा
गोलीटार। गोलीटार खेल मैदानमा ७७औं स्वतन्त्रता दिवस भव्यरुपमा मनाइयो। यस अवसरमा वरिष्ठ समाजसेवक घनश्याम भट्टराई मुख्य अतिथिको रुपमा उपस्थित थिए भने विशिष्ट अतिथिमा इस्ट पोइन्ट उच्चत्तर माध्यमिक पाठशालाका चियरमेन डी. के. सुब्बा, सिक्किम ट्रक ड्राइभर्स एसोसिएशन मुख्यालयका अध्यक्ष डी. बी. छेत्री र कार्यकारी अध्यक्ष रमेश शर्माको विशेष उपस्थिति रहेको थियो। राष्ट्रिय झण्डा उत्तोलन गरेपछि सरकारी उच्चत्तर माध्यमिक पाठशालाको एनसीसी अनि विभिन्न पाठशालाका विद्यार्थीहरुले प्रदर्शन गरेको परेडमा मुख्य अतिथि भट्टराईले सलामी थापे। पश्चिम पाण्डाम जीपीयूद्वारा आयोजित तथा कोर्डिनेटर श्रीमती विद्या विश्वकर्माले स्वागत जनाइएको यस कार्यक्रमको अवसरमा जीपीयू एंव आयोजक समितिकी अध्यक्ष श्रीमती कुसुम तामाङले मुख्यमन्त्री प्रेमसिंह तामाङले स्वतन्त्रता दिवसको अवसरमा दिनुभएको सन्देश पाठन गरिन् अनि आफ्नो पश्चिम पाण्डाम जीपीयूमा एसकेएम सरकारले जनहित र जीपीयूको विकासमा गरेको महत्त्वपूर्ण उपलब्धिहरुको अवगत गराइन्।
कार्यक्रममा विभिन्न पाठशालाका विद्यार्थीहरले देशभक्ति रङ्गारङ्ग नृत्यहरु प्रस्तुत गरे भने विभिन्न प्रतियोगितात्मक खेलकूदहरु पनि प्रदर्शित गरेर दर्शकहरुलाई आनन्दित तुलाए। डा. परशुराम छेत्री, राजेश लामा अनि सुरेन सुब्बाले संयुक्तरुपमा सञ्चालित यस स्वाधीनता दिवसको आकर्षण स्व. फूलमाया प्रधान मेन्स ओपन फुटबल टुर्नामेन्ट अनि स्व. महेश्वर मिश्र इन्टर स्कूल फुटबल टुर्नामेन्टको भव्य फाइन म्याच पनि आज सम्पन्न गरियो। पहिलो फाइनल स्व. महेश्वर मिश्र इन्टर स्कूल फुटबल टुर्नामेन्टको फाइनल सरकारी उच्चत्तर माध्यमिक पाठशाला ए अनि सरकारी उच्चत्तर माध्यमिक पाठशाला बी बीच सम्पन्न भयो। यस फाइनलमा २-३ को अन्तरले सरकारी उच्चत्तर माध्यमिक पाठशाला ए विजयी बन्यो। यसरी नै स्व. फूलमाया प्रधान मेन्स ओपन फुटबल टुर्नामेन्टको फाइनल हाउलर्स स्पोर्टिङ क्लब अनि एवाईसी आदर्श गाउँ बीच सम्पन्न भयो।
खुबै रोचक रहेको यस फाइनलमा ३ को विरुद्ध ५ गोल लगाएर यस टुर्नामेन्टको खिताब आदर्श गाउँको झोलीमा गयो। यस स्व. फूलमाया प्रधान मेन्स ओपन फुटबल टुर्नामेन्टको विजेता एवाईसी आदर्श गाउँको दललाई रु. १,५०,००० नगद पुरस्कार अनि उपविजेता दल हाउलर्स स्पोर्टिङ क्लबलाई रु. १,००,००० नगद पुरस्कारसहित दुवे दललाई आकर्षक ट्रफी मुख्य अतिथिको बाहुलीबाट प्रदान गरियो। त्यसरी नै स्व. महेश्वर मिश्र फुटबल टुर्नामेन्टको विजेता अनि उपविजेता दललाई आकर्षक ट्रफी प्रदान गरियो। प्रतियोगितामा आ-आफ्नो स्थान प्राप्त गर्ने प्रतियोगीहरुलाई मुख्य अतिथि अनि विशिष्ट अतिथिहरुका बाहुलीबाट पारितोषिक वितपण गरियो।









