गान्तोक: परमपावन गुरु १४औं दलाई लामाको ८७औं जन्म दिवस आज राज्यभरि विविध कार्यक्रमका साथ मनाइयो। यसै क्रममा राजधानी छेउ चानमारीस्थित स्थानीय सेरा जे ड्रोफेन्लिङ गुम्पामा आध्यात्मिक गुरुको जन्म दिवस मनाइयो। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि थिए।
जन्म दिवसको शुरूवात भारतको राष्ट्रगानपछि तिब्बती जन्म दिवस गीतबाट गरियो। मुख्यमन्त्री तामाङले परमपावन दलाई लामाको चित्रमा पूजा-प्रार्थना गरेर दिलो बालेरपछि केक् काटे। यस अवसरमा विविध सांस्कृतिक कार्यक्रमहरू सम्पन्न गरियो। कार्यक्रममा मुख्यमन्त्री र अन्य गणमान्य अतिथिहरू सम्मानित गरियो।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा परमपावन दलाई लामालाई सम्पूर्ण सिक्किमवासीहरूको तर्फबाट जन्म दिवसको बधाई दिए। उनले कार्यक्रममा उपस्थित जन समुदायलाई आफ्नो संस्कृति र परम्परा पहिचानको रूपमा सुरक्षा अनि संरक्षण गर्न आह्वान गरे। उनले गुम्पा परिसरमा सामुदायिक हल निर्माणको प्रस्तावलाई स्वीकृति प्रदान गरे।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनको क्रममा परमपावन दलाई लामाले सिक्किम भ्रमणमा आउने राज्य सरकारको निमन्त्रणलाई स्वीकार गरेको जानकारी गराए। उनले समुदायको उत्थान अनि विकासका लागि राज्य सरकारको तर्फबाट हर सम्भव सहायताको आश्वासन पनि दिए।
कार्यक्रममा राज्य, समाज अनि समुदायका लागि उल्लेखनीय योगदान दिने व्यक्तित्वहरू तेन्जिङ फिन्त्सो दोर्जी, तेन्जिङ छोपेल भोटिया, तागा खाम्पा, चुनी डोमा र तेन्जिङ गेलेलाई आयोजकको पक्षबाट सम्मानित गरियो। कार्यक्रममा खेन रिम्पोछे, मन्त्रीगण, गान्तोकका विधायक, मुख्यमन्त्रीका राजनीतिक सचिव, सल्लाहकारगण, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू आदि पनि उपस्थित थिए।