नाम्ची: नाम्ची जिल्ला प्रशासनले नामथाङ, याङगाङ र तिमी प्राथमिक स्वास्थ्य केन्द्रलाई एक-एकवटा स्मार्ट फोन आधारित पोर्टेबल भ्रूण ह्रदय निगरानी उपकरण फिटोसेन्स प्रदान गरेको छ। यो उपकरण टिस्टाभ्याली पावर ट्रान्समिशन लिमिटेडको सहायतामा सीएसआर पहल अन्तर्गत खरिद गरिएको बताइएको छ।
यी यन्त्रहरू मंगलवार सीएमओ, नाम्ची डा. डीसी शर्माको बाहुलीद्वारा सम्बन्धित अस्पतालका चिकित्सा अधिकारीहरूलाई प्रदान गरियो। प्रशासनले वर्ष २०२१ मा पनि नाम्ची जिल्ला अस्पताल, जोरथाङ सीएचसी र राभाङला पीएचसीलाई यस्तै उपकरणहरू प्रदान गरेको थियो। ग्रामीण जनसंख्याको लाभलाई ध्यानमा राख्दै प्रशासनले यो पहल जिल्लाका अझ अस्पतालहरूमा विस्तार गरेको बताइएको छ।