कालचिनीः जम्मा ३३ वटा आसन रहेको कालचिनी पञ्चायत समितिको बोर्ड गठन बुधबार शान्तिपूर्वक सम्पन्न भएको जानकारी तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवले दिएका छन्। जम्मा ३३ वटा आसनमध्ये २२ वटा आसनमा तृणमूलको जीत भएको थियो भने ११ वटा आसनमा भाजपाको जीत भएको थियो। ग्राम पञ्चायतहरूको लगभग बोर्ड गठन सकिएको क्रममा बुधबार कालचिनी पञ्चायत समितिको बोर्ड गठन कालचिनी पञ्चायत समितिको हलमा सम्पन्न भएको थियो। जसमा २२ वटा आसनमा जितेका तृणमूलले अन्ततः मलङ्गी ग्राम पञ्चायत क्षेत्रबाट निर्वाचित पञ्चायत समिति सदस्य साधु लोहारलाई पञ्चायत समितिको सभापतिमा निर्वाचित गरेको थियो भने उपसभातिको पदमा दलसिंहपाड़ा आसनमा जीत हासिल गरेकी महिला पञ्चायत समितिको सदस्य नितु राणालाई निर्वाचित गरिएको थियो।
बोर्ड गठन सम्पन्न भएपछि तृणमूल समर्थकहरूले हरियो अबीर दलेर हर्ष मनाएको थियो भने तृणमूल कालचिनी ब्लक सभापति बिरेन्द्र बारा उराँवले तृणमूलको बोर्ड गठन सुनिश्चित थियो र बुधबार दलको निर्देशमा साधु लोहारलाई सभापति र सहकारी सभापतिमा नितु राणालाई निर्वाचित गरिएको जनाएका छन्।









