गान्तोक: बेङलुरुको कान्तिवीरा स्टेडियममा आयोजित ‘१२ घण्टा स्टेडियम रन’ मा सिक्किमका २४ वर्षीय युवा धावक प्रीतम राईले तेस्रो स्थान प्राप्त गरेका छन्। उनले १२ घण्टामा स्टेडियमको २५२ चक्कर लगाएर ११०.३८ किलोमिटर दौड़ लगाएका छन्। उनी पश्चिम सिक्किमको तथाङ, गेजिङ निवासी हुन्।
अन्तरराष्ट्रिय स्तरको यो दौड़ प्रतियोगिता ‘एशिया एण्ड ओसनिक च्याम्पियनशीप स्टेडियम रन’ २ जुलाई राति ८ बजी शुरू भएर ३ जुलाई बिहान ८ बजी समाप्त भएको थियो। राईले उक्त प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेर सिक्किमको नाम रोशन गरेका छन्।
म्यारथन म्यान अफ् सिक्किम अमर सुब्बाले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘१२ घण्टा स्टेडियम रन’ मा प्रीतम राईले तेस्रो स्थान प्राप्त गरेको जानकारी दिए। उनले यो सिक्किमकै निम्ति पनि ठूलो उपलब्धी रहेको बताउॅंदै राईलाई बधाई दिए। उनले अन्तरराष्ट्रिय स्तरको प्रतियागितामा पहाडबाट पनि कसैले ‘२४ घण्टा स्टेडियम रन’ मा भाग लिनुपर्छ भन्ने सपना रहेको अवगत गराए।
धावक राईले मेन्टर अमर लामासहित समर्थन गर्ने सबैप्रति कृतज्ञता व्यक्ति गरे। उनले यसपाली राष्ट्रिय रेकर्ड तोड्ने लक्ष्य लिएर मैदानमा उत्रिएको, तर अस्वस्थताका कारण यो लक्ष्य पूरा गर्नु नसकेको बताए। उनले आगामी दिनहरूमा पनि ‘१२ घण्टा स्टेडियम रन’ लाई प्राथमिकता दिएर अभ्यास गर्ने बताए। उनले यस प्रतियोगितामा देश विदेशका धावकहरूले पनि भाग लिएको हुॅंदा उनीहरूबाट धेरै कुरा सिक्ने अवसर पाएको बताए।