१६ अगस्तः अमेरिकामा अर्जेण्टिनाका दिग्गज फूटबलर लियोनल मेस्सीको असाधारण फर्म जारी रहेको छ। मेजर लीग सकर (एमएलएस)-को टीम इण्टर मियामीका कप्तान मेस्सीले टीमको निम्ति लगातार छैटौं म्याचमा गोल गरे। उनको गोलको सहायताले इण्टर मियामी पहिलोपल्ट लीग कपको फाइनलमा पुग्यो। इण्टर मियामीले सेमिफाइनलमा फिलाडेल्फिया यूनियनलाई ४-१-ले पराजित गऱ्यो। मेस्सीको कप्तानीमा उनको टीमले अहिलेसम्म जम्मै ६ वटा म्याच जितेको छ। इण्टर मियामीले फिलाडेल्फियालाई पराजित गरी लीग कपको फाइनलमा मात्र स्थान नबनाएर २०२३ कन्काकाफ च्याम्पियन्स कपको निम्ति पनि क्वालीफाई गऱ्यो।
इण्टर मियामीले म्याचमा असाधारण शुरुवात गऱ्यो। जोसेफ मार्टिनेजले टीमलाई तेस्रो मिनटमै बढ़त दिलाए। त्यसको १७ मिनटपछि मेस्सीले सबैलाई चकित पार्ने गोल गरे। उनले लगभग ३० मीटरको दूरीबाट दर्शनीय गोल गरे। मेजर लीग सकरमा तीनपल्ट सीजनका सर्वश्रेष्ठ गोलकीपर चयन भएका आन्द्रे ब्लेकसँग मेस्सीको पावर शट्को कुनै जवाफ थिएन। स्पेनिश क्लब बार्सिलोनामा मेस्सीसँग लामो समयसम्म खेल्ने जोर्डी अल्बाले टीमको निम्ति तेस्रो गोल गरे। उनले मध्यान्तरको ठीक अघि स्टपेज टाइममा गोल गरे। दोस्रो हाफमा चाहिँ फिलाडेल्फियाको टीमले एक गोल सुलायो। टीमको निम्ति अलेजान्द्रो बेडोयाले ७३औं मिनटमा गोल गरे। त्यसपछि इण्टर मियामीका डेविड रुईजले ८४औं मिनटमा अझ एक गोल गरी आफ्नो टीमलाई ४-१-ले जीत दिलाए। इण्टर मियामीबाट मेस्सीको यो छैटौं म्याच थियो। यसमा उनले तीनवटा म्याचमा २-२ वटा अनि रहल म्याचहरूमा १-१ गोल गरेका छन्।










