गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज ७७औं स्वतन्त्रता दिवसको अवसरमा राजभवनमा राष्ट्रिय ध्वजारोहण गरे। राज्यपालले स्वतन्त्रता दिवसको हार्दिक शुभकामना व्यक्त गर्दै भने, यो स्वतन्त्रता हामीले धेरै संघर्ष अनि बलिदानपछि पाएका हौ। भारत माता की जय र बन्दे मातरम्को उद्घोष गर्दै कयौं वीर सैनिकहरूले आफ्नो प्राणको आहुति दिए। उनीहरूलाई थाहा थियो कि हामी रहेपनि नरहेपनि हाम्रो देश स्वतन्त्र बन्नेछ र भावी पीढीको भविष्य सुनौलो बन्नेछ। उनले हामी भारत देशका एक जिम्मेवार नागरिक भएको नातामा हामीले ती सैनिकहरूको सम्मानमा देश हितका कार्यहरू गरेर देशको नाम रोशन गर्नुपर्छ भनी बताए।
कार्यक्रममा आईटीबीपीका जवानहरूले गार्ड अफ् अनर दिएका थिए। राज्यपालले राजभवन परिसरमा स्वतन्त्रता सेनानीहरूको प्रतिमाहरूमा पुष्प अर्पित गरेर श्रद्धाञ्जली दिए। राज्यपालले राजभवनका कर्मचारीहरूलाई मिठाई पनि वितरण गरे।