नाम्चीः नाम्चीको भाइचुङ स्टेडिएममा ७७ औं स्वतन्त्रता दिवस भव्य रूपमा पालन गरियो। जिल्ला प्रशासन केन्द्रले आयोजना गरेको यस कार्यक्रममा विधानसभा अध्यक्ष अरूण उप्रेती मुख्य अतिथि रहेका थिए। कार्यक्रममा सम्बोधन गर्दै उनले देशलाई नागरिकहरूले प्राथमिकता दिनुपर्ने बताए। एसकेएम सरकारका उपलब्धी विषय प्रकाश पार्दै उनले एसकेएम सरकार आएपछि सिक्किममा विकासको मूल फुटेको दाबी गरे। कार्यक्रममा जिल्लापाल एम भरनी कुमारले राज्यपालको स्वतन्त्रता दिवसको संदेश पाठन गरेका थिए भने अतिरिक्त जिल्लापालले मुख्य मन्त्रीको संदेश पठन गरेका थिए।
कार्यक्रममा पुलिस बल, स्थानीय स्कुलहरूका विद्यार्थीहरूले परेड, साँस्कृतिक नृत्य आदि प्रदर्शन गरेर मनोरञ्जन गराएका थिए। कार्यक्रममा नाम्ची ताइक्वाण्डो एसोसिएशनका प्रशिक्षणार्थीहरूले ताइक्वाण्डो कला प्रदर्शन गरे। कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको फुटबल प्रतियोगिताको फाइनल खेलमा जापा एकादशले शुन्यको विरूद्ध तीन गोल लगाएर रेड पाण्डा एफसीलाई पराजित गर्यो। कार्यक्रममा पुलिस अधीक्षक, नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई, भवन एवं आवास विभागका अध्यक्ष टाँसी दोर्जे तामाङ, कौशल विकास विभागका सल्लाहकार सतिशचन्द्र राई, विभिन्न विभागका अधिकारीगण आदिको उपस्थिति रहेको थियो।