गान्तोकः सिक्किम उच्च न्यायालयले आज ७७औं स्वतन्त्रता दिवस राजधानी स्थित आफ्नो न्यायालय परिसरमा पालन गऱ्यो। न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमाद्दरले राष्ट्रिय ध्वजारोहण गरेपछि उपस्थित सबैले राष्ट्र गान गाए। न्यायमूर्तिले वेस्ट पोइन्ट उच्चतर माध्यमिक विद्यालयको पाइप ब्याण्डको गार्ड अफ् अनर ग्रहण गरे।
यसैगरी, सोच्यागाङस्थित सिक्किम जुडिशियल एकाडेमीमा पनि स्वतन्त्रता दिवस मनाइयो। यस अवसरमा वेस्ट पोइन्ट उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरू, तपश्री डान्स एकाडेमी, रियाज संगीतालय, सिक्किम उच्च न्यायालय र सिक्किम जुडिशियल एकाडेमीका सदस्यहरूले रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे। यसैगरी, डाईटका विद्यार्थीहरूले ‘प्रयास’ नामक एक नाटक पनि प्रस्तुत गरेका थिए। मुख्य न्यायाधीशको बाहुलीद्वारा प्रतिभागीहरूलाई पुरस्कृत गरियो।