कालचिनी: बक्सा ब्याघ्र प्रकल्पको बनकर्मीहरूले आज बिहानपख प्रायः ३.३० बजी असमको जोरहाटबाट बिहारतर्फ आइरहेको एउटा यात्रीवाहक भोल्भो बसलाई दमनपुर चेकपोस्ट क्षेत्रमा रोकेर जाँच गर्दा ४४ पीस सगुनको र ५० पीस शिरीषको बटमहरू लगाई जम्मा ९४ पीस चिरुवा काठहरू उद्धार गर्न सफल भएको बक्सा ब्याघ्र प्रकल्प पश्चिमको डीएफडी प्रवीण कासवानले जनाएका छन्। एउटा गोप्य सूचनाको आधारमा मङ्गलबार राती नै बक्सा ब्याघ्र प्रकल्पको मोबाइल स्क्वाइड १, एएफआर र निमती रेञ्ज मिलाएर ३१ सी राष्ट्रिय राजमार्गको विभिन्न नाकाहरूमा बनकर्मीहरू तैनाथ गरिएको थियो भने उक्त भोल्भो बस दमनपुर क्षेत्रमा प्रवेश गर्ने बित्तिकै बनकर्मीहरूले बसलाई रोकेर जाँच चलाउँदा बसको छानामा बोराले बेरेर राखेको काठहरू उद्धार गर्न सफल भएको थियो।

उक्त काठसितै बसमा सवार ४ जना क्रमैले बिहार निवासी रत्नेश कुमार राय ३८, राहुल कुमार महाराज २५, शंकर राय ५८ र असमको जोरहाट राजबारी निवासी गुरमीत सिंह ४१ लाई बनकर्मीहरूले पक्राउ गरेको बताईएको छ। पक्राउ परेका चारैजनालाई आज अलिपुरद्वार जिल्ला अदालतमा पेश गरिने बक्सा ब्याघ्र प्रकल्प सुत्रले जनाएका छन्। यात्रीवाहक बसलाई काठ तस्करीको निम्ति व्यावहार गरिएको बारेमा बन विभागलाई जानकारी आएकोले नै बनकर्मीहरूले योजनाबद्ध तरीकामा यो अभियान थाल्दा सफलता प्राप्त गरेको बताउँदै काठ तस्करीको जालको भण्डाफोर गर्न बन विभागपछि नपर्ने बक्सा ब्याघ्र प्रकल्प पश्चिमको डीएफडी प्रवीण कासवान र एडीएफओ पश्चिमका पल्लव मुखर्जीले जनाएका छन्। काठ तस्करीको निम्ति प्रयोग गरिएको भोल्भो बसलाई पनि बन विभागले जफत गरेको बताईएको छ। पक्राउ परेका चारैजनालाई आज अलिपुरद्वार जिल्ला अदालतमा उभ्याएपछि अदालतले १४ दिनको न्यायिक हिरासतमा अभियुक्तहरूलाई पठाएको छ।