खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेको मिठाईडाँड़ास्थित रेणु कन्या उच्च विद्यालयको स्थापना भएको ५० वर्ष पूर्ण भएको अवसरमा स्वर्ण जयन्ती वर्ष विद्यालयले पालन गरिरहेको छ। यसै अवसरमा विद्यालयले वर्षभरि नै विभिन्न कार्यक्रमहरूको आयोजना गरिरहेको छ। यसै क्रममा स्कूल परिसरमा स्वर्ण जयन्तीको अवसरमा एक कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा तीनधारे महानदी समष्टिको नव निर्वाचित सभासद नवराज छेत्री, विशिष्ट अतिथिको रूपमा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको लीला सिंह साथै अन्य अतिथिमा शिक्षक युवराज सुन्दास, प्राध्यापक साथै कवि राजा पुनियानी, कवि एवं प्रकाशक सुरज गुरूङ, श्रीगणेश सहकारी समिति तीनधारेको सभापति विनय छेत्री उपस्थित थिए। उक्त कार्यक्रमलाई विनय छेत्रीले अध्यक्षता गरेका थिए। कार्यक्रमको शुरूमा माता सरस्वतीको तस्वीरमा स्कूलकी प्रभारी शिक्षिका सपना जिम्बा लगायत सभाध्यक्ष, प्रमुख अतिथि अन्य अतिथिको बाहुलीबाट धूप-दीप प्रज्जवलन साथै माल्यापन गरियो। कार्यक्रममा भर्खरै मणिपूरमा शहीद बनेका जवानहरूको स्मृतिमा श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको चीर आत्मले शान्ति पाऊन भनी मौन धारण गरियो। कार्यक्रममा विद्यार्थी सरस्वती तामङले स्वागत गीत प्रस्तुत गरिन्। कार्यक्रममा विद्यार्थीवर्गलाई लिएर इन्टर हाउस कविता आवृति प्रतियोगिता सम्पन्न गरियो। उक्त प्रतियोगिता अंग्रेजी र नेपाली भाषामा गरिएको थियो। यस प्रतियोगितामा निर्णायकको रूपमा युवराज सुन्दास, राजा पुनियानी अनि सुरज गुरूङ आदि रहेका थिए। कार्यक्रममा निर्णायकगणले आफ्नो आफ्नो मन्तव्यमा विद्यार्थीहरूलाई प्रोत्साहित गर्दै विभिन्न जानकारीहरू गराएका थिए।
कार्यक्रममा मुख्य अतिथिको रूपमा उपस्थित तीनधारे महानदीको सभासद नवराज छेत्रीले आफू धेरै वर्षदेखि नै यस विद्यालय तथा विद्यार्थीहरूसित विभिन्न कार्यक्रमहरू गरिरहेको जनाउँदै सबै विद्यार्थीहरूलाई सधैं माया गर्ने बताए। स्कूलमा केही वर्षदेखि विद्यार्थीहरूलाई कराते प्रशिक्षण पनि दिइरहेको साथै केही महिना अघि सिलगढ़ीको दिल्ली पब्लिक स्कूलमा भएको कार्यक्रममा यस स्कूलको विद्यार्थीहरूले सिल्भर मेडल जित्न सफल भएकोमा विद्यार्थीहरूलाई मेडल प्रदान गरियोभने कराँते प्रशिक्षक रिजोङ तामङले भर्खरै आयोजित राज्य स्तरीय प्रतियोगितामा गोल्ड मेडल अनि नेशनल च्याम्पियनशीपमा काँस्य पदक जितेर आएकोमा उनलाई सम्मान गरियो। स्कूल पक्षबाट कविता आवृति प्रतियोगितामा निर्णायकगणलाई स्मृति चिन्ह प्रदान गरियो।यस प्रतियोगितालाई शिक्षिका सृजना रिजाल अनि विद्यार्थीहरू नियति प्रधान र प्रजक्ता राईले सञ्चालन गरेका थिए। कार्यक्रममा सभाध्यक्ष विनयकुमार छेत्रीले कराँते छोरी नानीहरूको लागि एकदमै आवश्यक रहेको र यस स्कूलमा कराते प्रशिक्षण दिइरहेको कुरा चाल पाएर खुशी व्यक्त गर्दै आगामी दिनमा यस स्कूलको विद्यार्थीहरूको उन्नतिको लागि शुभकामना दिए। कार्यक्रममा स्कूलकी प्रभारी शिक्षिका सपना जिम्बाले सबैलाई धन्यवाद प्रकट गरिन्।