गान्तोक: राष्ट्रको ७७औं स्वतन्त्रता दिवसको अवसरमा भारतीय जनता पार्टी, सिक्किम एकाईले राज्यबासीलाई शुभकामना व्यक्त गरेका छन्। प्रदेश अध्यक्ष डीआर थापाले आज आफ्नो सन्देशमा उऩले सिक्किमलगायत सम्पूर्ण देशवासीप्रति शुभकामना प्रकट गरे। उनले आजभन्दा ७६ वर्ष अघि देशका महान स्वतन्त्रता सेनानीहरूको अथक संघर्ष अनि बलिदानको फलस्वरूप हाम्रो देश भारतले १५ अगस्त, १९४७ मा अंग्रेजको शासनबाट स्वतन्त्रता प्राप्त गरेको स्मरण गराए। आज हामी स्वतन्त्रताको अमृत महोत्सव मनाउँदै देशको प्रगतिको अमृतकालमा प्रवेश गरिसकेका छौं, यस पुनित अवसरमा ती महान स्वतन्त्रता सेनानी अनि वीर वीरंगनाहरूको स्मरण गर्नुपर्ने उल्लेख गरे। यसै गरी देशको सीमाना अनि आन्तरिक रक्षामा खटिएका सम्पूर्ण सैनिक तथा सुरक्षा बलका योद्धाहरूप्रति नमन गर्नुपर्ने थप उल्लेख गरे। देशले स्वतन्त्रतापछि ७६ वर्षको समयअवधि पार गरिसकेको छ भने सिक्किमले पनि भारतीय गणराज्यमा ४८ वर्षको प्रजातान्त्रिक यात्रा तय गरिसकेको उल्लेख गरेका छन्। यस क्रममा राष्ट्रले धेरै उतार-चढ़ाउहरूबाट गुज्रिँदै विकास, उन्नति र प्रगतिका माइलखुट्टीहरू पार गर्दै आएको भन्दै स्वतन्त्रतापछि साढ़े सात दशकको लामो यात्रा तय गर्ने क्रममा धेरैवटा व्यवस्थाअन्तर्गत आफ्नो विकास यात्रा अघि बढ़ाउँदै आज हाम्रो देशले आगामी २५ वर्षको अमृतकालको निम्ति विकास तथा प्रगतिको एउटा नयाँ लक्ष्य तय गरेको बताएका छन्। विगत नौ वर्षदेखि देशमा नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकारले आउँदो २५ वर्षमा देशलाई विश्वकै महाशक्ति एवं विश्वगुरूको रूपमा स्थापित गर्ने दिशामा एउटा दूरदर्शी लक्ष्यको निम्ति आधार तयार गरिसकेको जानकारी गराए। यसै गरी सिक्किम राज्यले पनि विगत 48 वर्षमा भारतीय गणराज्यको २२औं राज्यको रूपमा आफ्नो यात्रा गरिरहेको छ भन्दै तीनवटा अन्तर्राष्ट्रिय सीमाले घेरिएको सिक्किममा यहाँका जनगणले भारतको एउटा असल रक्षकको भूमिका निर्वाह गरिरहेको बताए। हामी ७७औं स्वतन्त्रता दिवस मनाउँदै गर्दा हामीले स्वतन्त्रताको शतवार्षिकी मनाउँदा हाम्रो राष्ट्र, हाम्रो राज्यलाई कुन स्तरमा खड़ा गर्ने भन्ने विषयमा व्यापक चिन्तन गर्न, लक्ष्य निर्धारण गर्न साथै यसको निम्ति समग्र देशवासीले आ-आफ्नो स्तरबाट सहभागिता सुनिश्चित गर्ने दिशामा सोच्न आवश्यक छ भनी बताए। विगत ७६ वर्षको प्रगति र उन्नतिलाई निरन्तरता दिँदै देश तथा सिक्किम राज्यमा पनि भ्रष्टाचारमुक्त, भाईभतिजावादमुक्त एवं पारदर्शी अनि जनमुखी व्यवस्था स्थापित गरेर देशलाई एउटा प्रगतिशील, सफल र समृद्ध महाशक्ति बनाउन सबैको योगदानको खाँचो छ। आऔं, यस शुभ घड़ीमा हाम्रोराज्य र देशलाई समृद्धशाली बनाउन आ-आफ्नो स्तरबाट योगदान दिने संकल्प गर्ने आह्वान पनि प्रदेश अध्यत्क्ष थापाले गरे।