गान्तोकः आजादीको अमृत महोत्सव अन्तर्गत आज अदमपुल जुनियर हाई स्कूलमा आयोजित एक कार्यक्रममा भारत तिब्बत सीमा पुलिस बल (आईटीबीपी) को १३औं वाहिनीले राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई गार्ड अफ् अनरले सम्मानित गरे। राज्यपालको उपस्थितिमा आईटीबीपीको १३औं वाहिनीले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको थियो।
मेरी माटी मेरा देश कार्यक्रम अन्तर्गत आईटीबीपीको १३औं वाहिनीले विद्यालय परिसरमा विरुवा रोपण गरेको थियो। साथै पंच प्रण कार्यक्रम अन्तर्गत वाहिनीका जवानहरूले आफ्नो हातमा दियो बत्ती राखेर देशको एकता र अखण्डता कायम राख्न शपत लिए। यसैगरी, वीरों वंदन कार्यक्रम अन्तर्गत शहीदहरूको सम्मानमा स्मारकमा शहीदहरूलाई श्रद्धाञ्जली अर्पित गरे।
वाहिनीका सहायक सेनानी महेन्द्र सिंहको अगुवाईमा विद्यालयका शिक्षकगण, विद्यार्थी र स्थानीय नागरिकहरूसॅंग अत्यन्त आत्मीय समन्वय स्थापित गरेर उनीहरूमा देशभक्ति र राष्ट्रिय ध्वजप्रति सम्मान भावनालाई प्रेरित गरिएको बताइएको छ। यसैगरी, राज्यपाल आचार्यले १३औं वाहिनीका कर्मीहरूसॅंग भेट गरेर उनीहरूको उत्साह वर्धन गर्दै उनीहरूका देशप्रतिको सेवा र समर्पण भावनाको सराहना गरे।