सिटिजन एक्सन पार्टीले गऱ्यो सरकारको कार्यप्रणालीको आलोचना

1000270874.jpg

गान्तोकः सिटिजन एक्सन पार्टी सिक्किमले सोमवार पत्रकार सम्मेलन आयोजन गरेर एसकेएम सरकारको कार्यप्रणालीको खुलेर आलोचना गरेको छ। पार्टीका प्रवक्ता प्रकाश पराजुली र महेश राईले वर्तमान सरकार जन सरोकारका विषयमा केन्द्रित नभएर विपक्षी पार्टीको खोइरो खन्न मात्र लागि परेको आरोप लगाएका छन्। सिटिजन एक्सन पार्टीका प्रवक्ताद्वयले १० अगस्तमा एसकेएम पार्टीको जन उन्मुक्ति दिवसको अवसरमा मुख्यमन्त्री पीएस तामाङले गरेको सम्बोधन सिक्किम र सिक्किमे जनताको हितमा नरहेर तथा केवल विपक्षीको खोइरो खन्न समय नष्ट गरेको बताए। उनीहरूले एसकेएम साशनकालमा जनता र सरकार बेहाल स्थितिमा रहेको र एसकेएम पार्टी मात्र मालामाल भएको छ भन्दै सरकार जनसरोकारका विषयबाट उदासीन बनेको आरोप लगाए।

एसकेएम सरकारको कार्यकालमा सरकारी अस्पतालको औषधि तथा अन्य सप्लाई कार्यमा व्यापक भ्रष्टाचार भएको पार्टीले सिटिजन एक्सन पार्टीले पुख्ता सबुत संकलन गरिसकेको र यसको चाँडै मिडिया मार्फत सार्वजनिक गर्ने पनि महेश राई र प्रकाश पराजुलीले बताएका छन्। जन उनमुक्ति दिवसको नाममा एसकेएम पार्टी ५० करोड रुपियाँ खर्च गरेको, तर एसकेएम सरकारकालमा सिक्किमको ग्रामीण क्षेत्रका जनता ५० रुपियाँ पनि जुटाउन नसक्ने स्थितिमा पुगेका प्रवक्ताहरूले आरोप लगाएका छन्। लम्पी रोगका कारण सिक्किमको पशुपालन क्षेत्र प्रभावित बनेको र ग्रामीण मानिसहरूको जीविकोपार्जनको माध्यम पनि टुटेर गएको छ भन्दै एसकेएम सरकारले यस रोगको उपचार गराउन र गाइबस्तु गुमाएका किसानहरूलाई क्षतिपुर्ती वितरण गर्न कुनै चासो नै नदेखाएको पनि आरोप लगाए। सरकारले दुहुना गाई गुमाएका किसानहरूलाई ८० हजारदेखि लिएर १ लाख रुपियाँसम्म क्षतिपुर्ति दिनुपर्छ भन्ने सिटिजन एक्सन पार्टीका प्रवक्ताद्वयले माग गरेका छन्।

पार्टीका प्रवक्ता दुवैले एसकेएम र एसडीएफ सरकारमा कुनै भिन्नता नरहेको बताउँदै सिक्किमा सत्ता परिवर्तन भएपनि व्यवस्थामा कुनै परिवर्तवन नआएको बताए। राजनीतिक हिंसाको घटनामा पनि एसकेएम सरकार कारबाही गर्ने स्थानमा कायर देखिएको भन्दै चुनाउअघि सीबीआई ल्याउने भनी जनतालाई दिएको वचन पूरा गर्न नसकेको सिटिजन एक्सन पार्टीले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement