मिरिक: युनाइटेड खृष्टियान माइनोरिटी वेलफेयर सोसाइटी मिरिकले हिजाे मणिपुरमा शान्ति र सद्भावको लागि मिरिकमा शान्ति र्यालीको आयोजना गर्यो। सोसाइटीको सल्लाहकार पास्टर रुबेन प्रधान को सन्चालन अनि प्रवक्ता पास्टर लाडुप लेप्चाको प्रारम्भिक प्रार्थनामा दिउँसो २ बजे बाइपासबाट सुरु भएको शान्ति र्याली मिरिक बजार परिक्रमा गरी दिउँसो ४ बजे कृष्णनगर क्लब मैदानमा पास्टर कुशल राइको छोटो प्रार्थना पछि समापन भएको थियो।
र्यालीको नेतृत्व सोसाइटीको महासचिव पास्टर सागर कार्किडोली, मुख्य संयोजक रेभ° एन जोशुवा शर्मा, उपाध्यक्ष पास्टर मर्कुश सुब्बा, मुख्य सल्लाहकार रेभ° उमेश सेवा, क्षेत्रीय संयोजकहरु पास्टर बिकाश दर्जी, पास्टर उमेश राई, केन्द्रीय समितिका सदस्यहरु पास्टर समिर राई, एल्डर सन्तोष गुरुङ, पास्टर निवास तामाङ आदिले गरेका थिए।
र्यालीमा मिरिकका करिब ४० भन्दा बढी चर्चका करिब ३ सय जनाको सहभागिता रहेको थियो। मणिपुर र यसका जनतामा ऐक्यबद्धता देखाउन र शान्ति ल्याउने उद्देश्यले शान्ति र्याली निकालिएको थियो।
र्याली शान्तिपूर्ण थियो। सहभागीहरुले शान्ति, एकता र भाइचाराको सन्देश बोकेका प्लेकार्ड तथा ब्यानर बोकेका थिए।
सोसाइटीको सचिव पास्टर सागर कार्कीडोलीले यस शान्ति र्यालीमा सहभागि हुने सबैलाई धन्यवाद दिँदै मणिपुरमा शान्ति स्थापनाका लागि सबैले गरेको प्रयासको प्रशंसा गरे। र्यालीमा रेभ° एन. जोशुवा शर्मा अनि श्रीमान केनेथ थपा ले छोटो समापन वक्तव्य राखे। उनीहरूले मणिपुरलाई फेरि एक पटक शान्तिपूर्ण स्थान बनाउन समाजका सबै वर्गहरूलाई अगाडि आउन र हात मिलाउन आग्रह गरे।
युनाइटेड खृष्टियान माइनोरिटी वेलफेयर सोसाइटी मिरिकका यस्ता पहलहरूले मणिपुर र यसका जनतामा शान्ति ल्याउन मद्दत गर्नेछ भन्ने आशा छ। हाम्रो देशमा शान्ति र सद्भाव कायम राख्नका लागि आवश्यक भएका यस्ता पहलहरूलाई हामी सबैले समर्थन गर्नुपर्छ।