चारवटा ग्राम पञ्चायतमध्ये तीनवटामा तृणमूलको बोर्ड गठन, लोथाबारी ग्राम पञ्चायतको बोर्ड गठन स्थगित

64325172-7752-4fac-8fdb-f837086e2c9a

कालचिनीः सोमबार कालचिनी खण्डको रहल ४ वटा ग्राम पञ्चायतमा बोर्ड गठनको प्रक्रियामा जयगाउँ एक, गारोपाड़ा र राजाभातखावा ग्राम पञ्चायतमा तृणमूलको बोर्ड शान्तिपूर्वक गठन भएको छ भने लोथाबारी ग्राम पञ्चायतको बोर्ड गठन प्रक्रियामा तृणमूल बनाम भाजपाबीच व्यापक तनाउ उत्पन्न भएकोले यहाँको बोर्ड गठन स्थगित गरिएको छ। जयगाउँ एक नम्बर ग्राम पञ्चायतमा तृणमूलको प्रधान पदमा अनु खातुनलाई निर्वाचित गरिएको छ भने फुर्बा लामालाई उपप्रधानमा निर्वाचित गरिएको प्रशासनिक सुत्रले जनाएका छन्। यसैगरी गारोपाड़ा ग्राम पञ्चायतमा जम्मा २५ वटा आसनमा १७ वटा तृणमूलको ७ वटा भाजपाको र एउटा आसनमा निर्दलीयको जीत रहेकोबीच बोर्ड गठन तृणमूलले गर्दै प्रधान पदमा कमला महलीलाई निर्वाचित गरिएको र उपप्रधानमा मोहनचीक बडाईकलाई निर्वाचित गरिएको तृणमूल अञ्चल सभापति घुरन महलीले जनाएका छन्।
बोर्ड गठन प्रक्रिया एकदमै शान्तिपूर्वक सम्पन्न भएको बताउँदै भाजपाले आफ्नो हारको बदला लिन कमला महलीलाई एसटी प्रमाणपत्र जाली बनाएको आरोप लगाएको तर त्यो सबै झुटो सिद्ध भएको र अन्ततः कमला महलीलाई नै दलले प्रधान पदमा निर्वाचित गरेको घुरन महलीले जनाएका छन्।गारोपाड़ा ग्राम पञ्चायत मार्फत क्षेत्रको राम्रो विकास गरिने र दलको निर्देशमा जनसाधारणको काम गरिने नवनिर्वाचित प्रधान कमला महलीले जनाएकी छन्। अर्कोतिर जम्मा १२ वटा पञ्चायत सदस्य रहेको राजाभातखावा ग्राम पञ्चायतमा दुर्गम बक्साद्वार पहाड़को आदमा गाउँबाट निर्वाचित तृणमूल प्रार्थी सोनम जाङमो डुक्पालाई दलको निर्देशमा प्रधान पदमा निर्वाचित गरिएको छ। प्रथमपल्ट यसरी दुर्गम बक्साद्वार पहाड़को निर्वाचित महिला पञ्चायत सदस्यलाई प्रधान बनाईएकोमा तृणमूल समर्थकहरूले हर्ष व्यक्त गरेका छन्। नवनिर्वाचित प्रधान सोनम जाङमो डुक्पाले दलले यसरी आफूमाथि विश्वास गरेर प्रधान बनाएको र यसमा आफू पूर्ण भरोसाको साथ काम गर्ने बताएकी छन्। यसरी नै उपप्रधानमा निर्वाचित भएको राजाभातखावाका निर्वाचित पञ्चायत सदस्य पार्थ प्रतिम दत्ताले दलले दिएको जिम्मेदारीलाई निर्वाह गर्ने र राजाभातखावा अञ्चल जुन पूर्णरुपले बनबस्ती र दुर्गम पहाड़ी क्षेत्रमा छन त्यहाँको सर्वाङ्गीन विकासमा ध्यान दिएर काम गरिने जनाएका छन्। राजाभातखावाका तृणमूल अञ्चल सभापति मनोज अग्रवालले पनि राजाभातखावामा तृणमूलको जीत हुने सुनिश्चितताबीच सोमबार बोर्ड पनि गठन भएको र निर्वाचित प्रधान र उपप्रधानलाई लिएर क्षेत्रको विकासमा ध्यान दिईने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement