सभापति अनु छेत्री प्रधान र नारायण थापा उप सभापति चयन
खरसाङ: आज खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले खरसाङ खण्डको पञ्चायत समितिको आधाकारिक रूपमा बोर्ड गठन गरेको छ। बोर्ड गठन शपथ ग्रहणको लागि खरसाङ महकुमा शासक कार्यालयमा जान अघि खरसाङको मोटर स्ट्याण्डमा पार्टी अध्यक्ष अनित थापाले सबै पञ्चायत समितिको २३ जना सदस्यहरूलाई खदार्पण गरेर बधाई तथा शुभकामना दिएका थिए। उक्त कार्यपछि मोटर स्ट्याण्डबाट भागोप्रमोका २३ जना पञ्चायत समितिको सदस्यहरूका साथमा रैली निकालेर पंखाबारी रोड हुँदै खरसाङ महकुमा शासक पुगेर बोर्ड गठन साथै शपथ ग्रहण समारोह सम्पन्न भएको छ। खरसाङमा रहेको पञ्चायत समितिको ३१ वटा सिटहरूमा भागोप्रमोले २३ वटा सिटहरू जितेर सजिलै बोर्ड गठन गरेको छ। खरसाङ खण्डको पञ्चायत समितिको बोर्डमा अनु छेत्री प्रधान सभापति चयन भएका छन् भने उप सभापतिमा नारायण थापा चयन भएका छन्। खरसाङ महकुमा शासक कार्यालयमा शपथ ग्रहण समारोह हुन अघि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ खण्डको पञ्चायत समितिको सभापति अनु छेत्री प्रधानले धेरै सालपछि दुई स्तरीय पञ्चायत चुनाव भएकोले धेरै समस्याहरू छन् जुन विस्तारै समाधान गर्दै जाने बताएका छन्। उनले आफु नारी शक्तिको केन्द्रीय अध्यक्षा भएकोले पार्टी र जनताको लागि सेवा गर्नलाई समयको तालमेल मिलाएर काम गर्ने बताएका छन्।

त्यसरी नै उप सभापति नारायण थापाले भर्खर बोर्ड गठन भएको छ र अब विस्तारै सबै मिलेर खरसाङ खण्डको १४ वटै ग्राम पञ्चायतहरूका समस्या समाधानको लागि विस्तारै मिलेर समय दिएर काम गर्दै जाने बताएका छन्। बिहान खरसाङको मोटर स्ट्याण्डबाट बिजय रैलीसहित २३ जना पञ्चायत समितिको सदस्यहरू र पार्टीको शीर्ष नेताहरूका उपस्थितिमा रैली निकालिएको थियो। खरसाङ महकुमा शासक कार्यालयमा पुगेर बोर्ड गठन साथै शपथ ग्रहण समारोहपछि पुन: बिजय जुलुसको साथमा पंखाबारी रोड हुँदै मोटर स्ट्याण्डमा आएर बिजय सभामा परिणत भएको छ।