खरसाङ: बर्खाको पानीले निर्माणाधीन खरसाङको सातघुम्ती-दुर्पीन सड़कको अवस्था अत्यन्तै बेहाल भएको अवस्थालाई ध्यानमा राखेर आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, लंगभ्यूको संयोजक मौसम तामाङको नेतृत्वमा मरमत्ति गर्ने कार्य सम्पन्न गरिएको छ। बर्खाको भलले क्षतिग्रस्त पारेको उक्त सड़कको ठाउँहरूमा जेसीबी लगाएर मरमत्ति गरिएको जानकारी सत्यम थापाले दिएका छन्। उनले जनाए अनुसार चुनाउअघि पार्टीको पक्षबाट गाउँवासीलाई दिइएको वचन पूरा गर्दै आज विशेषगरी मौसम तामाङको उपस्थिति अनि आयोजनामा यसरी सड़क मरमत्तिको कार्य गरिएको जनाएका छन्। यस बाटोको मरमत्तिको निम्ति उनले पार्टी अध्यक्ष अनित थापा अनि संयोजक मौसम तामाङ लगायत सम्पूर्ण पार्टी प्रतिनिधिहरूप्रति विशेष आभार प्रकट गरेका छन्।