नयाँ दिल्ली: चीन सीमादेखि ५० किमी. टाड़ा भारतले लद्दाख हवाई क्षेत्रलाई अपग्रेड गर्ने कार्य शुरू गरेको छ। यसान्तर्गत न्योमा एडभान्स्ड ल्याण्डिङ्ग ग्राउण्ड (एएलजी)-मा लड़ाकू अभियानहरूको लागि २.७ किमी लामो कङ्क्रीट रनवे निर्माण गरिँदैछ। यो १३,७०० फुटको उच्चतामा चीनको नजरदेखि टाड़ा विश्वकै सबैभन्दा उच्च हवाई क्षेत्र हुनेछ। यो एयरबेस चीन सीमामा एलएसीको सबैभन्दा नजिक रहेको कारणले रणनीतिक रूपले सबैभन्दा संवेदनशील हुनका साथै महत्वपूर्ण पनि छ।
पूर्वी लद्दाख सीमा नजिक १८ सेप्टेम्बर, २००९ मा शिलान्यास गरिएको न्योमा एयरफिल्डलाई अपग्रेड गर्ने फसेलालाई चीनीयाँ बुनियादी ढाँचाका विकास गतिविधिहरूको जवाफको रूपमा हेरिँदैछ। रक्षा मन्त्रालयको आदेशमा बोर्डर रोड अर्गनाइजेशन (बीआरओ)-ले वास्तविक नियन्त्रण रेखा (एलएसी)-मा लड़ाकू जेट संचालनको सुविधाको लागि पूर्वी लद्दाखको न्योमा एडभान्स्ड ल्याण्डिङ्ग ग्राउण्डलाई अपग्रेड गर्नको लागि निर्माण कार्य शुरू गरेको छ। यहाँ बुनियादी ढाँचासितै २.७ किमीको कङ्क्रीट रनवे पनि बनाइनेछ जुन २० महिनाभन्दा पनि कम समयमा पूरा हुनेछ। कङ्क्रीट रनवे बनाएपछि यहाँबाट लड़ाकू विमानहरू उड़्न सक्नेछन्।
न्योमा एडभान्स्ड ल्याण्डिङ्ग ग्राउण्डको वर्तमान रनवे माटोले बनिएको छ जहाँ केवल सी-१३०जे जस्ता विशेष परिवहन विमान अनि हेलिकप्टरहरूलाई उतार्न सकिन्छ। कङ्क्रीटको नयाँ रनवे बनिएपछि न्योमाबाट भारी परिवहन विमान पनि संचालन हुनसक्नेछ जसले भारतीय वायु सेनाको रणनीतिक गहिराइलाई विस्तार दिनेछ। सूत्रले बताए अनुसार १३,७०० फुटमा अवस्थित न्योमा एएलजी दुनियाँकै सबैभन्दा उच्च हवाईक्षेत्र हुनेछ, यसैले लड़ाकू इञ्जनहरूलाई यतिको उच्चताबाट संचालन गर्नमा सक्षम बनाउनको लागि परिवर्तन गरिँदैछ। चीन सीमादेखि ५० किमी. भन्दा कम दूरीमा न्योमा एयरबेस अपग्रेड भएपछि क्षेत्रमा लड़ाकू तथा प्रमुख परिवहन विमानहरूलाई संचालन गर्न सहज हुनेछ। -हिस











