सोनादा: जित्नु कुनै ठूलो कारक होइन, जीत-हार हुँदै जान्छ तर जीतपछि मलाई जुन प्रकारले खदा लगाएर सम्मान दिएका छन्, यो खदा भनेको जिम्मेवारी हो, मलाई दिएको चुनौतीहरु हो। यो जीत मेरो मात्र होइन, हामी सबैको जीत हो। यो जीतमा धेरैको आपेक्षा छ। तल्लो तहदेखि माथिल्लो तहसम्म आआफ्नै प्रकारको आपेक्षा छ। सोनादा पचेङ समष्टीबाट जीटीए सभामा नवनिर्वाचित सभासद अनोश थापाले यस्तो मन्तव्य गरेका हुन्। जीतपछि समष्टिमा पहिलो आधिकारिक भ्रमण स्वरूप उनी पचेङस्थित शान्तीरानी उच्चतर माध्यमिक विद्यालयको निरीक्षण गर्न पुगेका थिए। यस अवसरमा विद्यालय कर्तृपक्षद्वारा उनलाई खदा लगाएर स्वागत गरे। सोही अवसरमा सभासद थापाले पनि विद्यालय कर्तृपक्षलाई खदा लगाएर सम्मान गरे। निर्वाचित सभासदसित सोनादा-पचेङ समष्टिका अध्यक्ष सोनाम लामा, सचिव सुकदेव राई लगायत समष्टिका अन्य प्रतिनिधिहरु सामेल थिए। विद्यालयको एउटा कक्षमा आयोजित कार्यक्रमबीच विद्यालयका प्रधानाध्यपक नरेन्द्र राईले विद्यालयको पूर्वाधार लगायत विविध समस्याहरुबारे सभासद अनोश थापालाई जानकारी गराए। सभासद अनोश थापाले पनि विद्यालय भवन पुनर्निर्माणको आश्वासन दिएका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै उनलेे म भागोप्रमोको मात्र सभासद होइन, समस्त सोनादा-पचेङ समष्टिको सभासद हूँ। हिजो चुनाउभरि मात्र हामी एउटा ब्यानर भित्र थियौँ। तर आज समष्टि भरिका जनताको म सभासद चुनिएको छु। यसैले समष्टिका सबैले निर्धक्क आआफ्नो समस्याहरु मलाई राख्न सक्नेछन्। यदि मैले गर्न सक्ने र सम्भावित कामहरू हो भने म अवश्यै गर्नेछु। कसैलाई पनि पक्षपात गरिने छैन भनी बताएका छन्। विद्यालय सन्दर्भमाथि बोल्दै उनले भने, अस्ती चुनाउ अवधि विद्यालयको विषय लिएर म भोट माग्न आइन। किनभने त्यसबेला आश्वासन बाहेक हामीसित दिनुलाई अरु केही थोक थिएन। तर आज म जुन जग्गामा उभिएको छु, त्यो सम्पूर्ण सोनादा-पचेङ समष्टिका जनताले उभाएका हुन्। आज म निर्धक्क शान्तीरानी स्कुललाई मेरो कार्यकालभित्र पुनर्निर्माण गरिदिने वचन दिँदछु। शान्तीरानी स्कूलको समस्या मेरो चुनवी घोषणा-पत्रमा समेत अगावै समावेश गरिसकेको छु।विद्यालय भवनको योजना ठूलो भएकाले यदि जीटीएबाट सम्भव हुन नसके म स्वयम् कलकत्ता गएर भएपनि समाधान गर्नेछु। उनले ठोकुवा गर्दै भने, म पहिलोचोटि आउँदा जसरी आएको हुन्छु दोस्रोचोटि आउँदा पनि छाती फुकाएरै आउणछु। किनभने नेताले आश्वासन दिन्छ त्यपछि हराउँछ भन्ने जनताको भनाइ छ। तर म जे गर्छु भन्छु त्यसमा बचनवद्ध हुन्छु। त्यो काम पूरा गर्नलाई लागि पर्छु। विद्यालय पक्षलाई संकेत गर्दै उनले भने, आउने दिनमा विद्यालय भवन निर्माण गरिँदा विद्यालय व्यवस्थापन समितिको अधीनमा मात्र कार्य हुनेछैन। त्यसबेला विद्यालय कर्तृपक्ष र स्थानीय सचेतपक्षलाई लिएर निरीक्षण समिति गठन गरिनेछ। सरकार या क्षेत्रीय प्रशासन मार्फत कुनै पनि परियोजन आउने गर्छ। तर त्यो परियोजनाअनुसारको काम नहुँदा दोष जति सबै नेताकै टाउको थोपिन्छ। यसैले काम सही ढंगमा सञ्चालन गर्नलाई हामीले जुन-जुन गाउँमा काम गर्दैछौं त्यहाँ निरीक्षण समिति पनि गठन गरिरहेका छौँ।