गान्तोक: आगामी १ देखि ७ सेप्टेम्बरसम्म नेपालको राजधानी काठमाडौंमा आयोजना हुने ५५औं एशियन बडीबिल्डिङ एण्ड फिजिक स्पोर्ट्स च्याम्पियनशीप २०२३मा सिक्किमका पाँचजना महिला खेलाड़ीले भारतलाई प्रतिनिधित्व गर्नेछन्। देशको प्रतिनिधित्व गर्ने सिक्किमे खेलाड़ीहरूमा चन्द्र राई, अनिता छेत्री, निमा डोमा तामाङ, ओजस्वी राई र सविना राई रहेका छन् जसले फिजिक स्पोर्ट्स च्याम्पियनशीपको विभिन्न वर्गमा प्रतिस्पर्धा गर्नेछन्।
आज राजधानीमा एउटा सानो परिचयात्मक कार्यक्रमबीच बडी बिल्डर्स एसोसिएशन अफ् सिक्किमले खेलाड़ीहरूलाई बधाई एवं शुभकामनाकोसाथमा देश र राज्यको निम्ति मेडल जितेर आउने आशा पनि व्यक्त गरेको छ। उल्लेखनीय छ, सिक्किमका यी महिला खेलाड़ीहरूले आगामी नोभेम्बर महिनामा दक्षिण कोरियामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि देशको प्रतिनिधित्व गर्ने बडी बिल्डर्स एसोसिएशन अफ् सिक्किमका महासचिव पेमा डब्ल्यूटी भोटियाले बताए।
आज नै सङ्गठनका ११ जना नयाँ सदस्यलाई औपचारिकरुपमा स्वागत पनि जनाइयो। सङ्गठनका महसाचिव पेमा डब्ल्यू टी भोटिया अनि अन्य कार्यकारी सदस्यहरूले नयाँ सदस्यहरूलाई खादा लगाएर स्वागत जनाए। बडी बिल्डर्स एसोसिएशन अफ् सिक्किम सिक्किममा शारीरिक सुगठन खेलका प्रमुख संस्थाहरू मध्ये एक हो। सङ्गठनले आगामी सेप्टेम्बर महिनामा 6औं स्ट्रङ्गेस्ट मेन एण्ड वमन अफ् सिक्किम च्याम्पियनशीप आयोजना गर्ने भएको छ।











