सिक्किमको रानीपुलमा १७१औं पाद्री गङ्गाप्रसाद प्रधान जयन्ती पालन

IMG-20220706-WA0146.jpg

गान्तोक: सिक्किमको रानीपुलस्थित सरम्साको इपीसीएस चर्च भवनमा १४ वटा चर्चहरूको संयुक्त आयोजनामा पहिलो पटक वृहत रूपमा पाद्री गङ्गाप्रसाद प्रधान जन्म जयन्ती सम्पन्न भएको छ। योभन्दा अघि बेथानी चर्चको एल-गिब्बोर युवाहरूले कवि रवि रोदन अनि पा. कालेब गजमेरको अगुवाईमा स-सानो रूपमा पाद्री जयन्ती मनाउने गरेको जानकारी प्राप्त भएको छ। यस कार्यक्रमको प्रमुख अतिथि सिक्किमका विधायक जीटी ढुंगेल अनि प्रमुख स्रोत व्यक्ति कालेबुङ निवासी रेभ. डा. छत्र सुब्बा पावल उपस्थित थिए। पास्टर कालेब गजमेरको सञ्चालनमा एल्डर टीएल तामाङको प्रारम्भिक प्रार्थनाद्वारा शुरू भएको यस कार्यक्रममा पास्टर टीटी लेप्चाद्वारा स्वागत सम्भाषण राखियो। रानीपुलका यूनाइटेट चर्चेसबाट नृत्य र गायन लगायत शिला लेप्चाद्वारा कविता वाचन पनि गरियो। यस्तै अरू विभिन्न प्रकारका सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्रोत व्यक्तिको रूपमा बोल्दै डा. छत्र सुब्बा पावलले यस प्रकारका कार्यक्रम एउटा सामाजिक क्रियाकलाप पनि भएको कारण जनता-जनार्दनको निम्ति सुलभ हुने गरी सामुदायिक हलहरूमा गर्नु अति नै सान्दर्भिक ठहर्दछ भन्दै आयोजक समितिलाई बधाइ दिँदै हर कोणबाट पाद्रीको गहन परिचयसहित प्रमाणहरू देखाएका थिए। यसको साथै पाद्री जयन्ती मनाउनुको औचित्य र खाँचो सदैव भएको र जिम्मेवारी पनि हामीहरू सबैको भएको बताए।

उनले पाद्रीबारे प्राथमिक चरणका धेरैवटा कामहरू भइसकेको छ र अब हामीले उहाँबारे गहन अध्ययन, मनन र प्रस्तुति गर्नुपर्ने बताए। प्रमुख अतिथिको आसनबाट बोल्दै विधायक जीटि ढुंगेलले पनि यस प्रकारको कार्यक्रम राज्यको सीमा नाघेर गरिनुपर्ने हो, कम्तिमा पनि राज्यव्यापी रूपमा मनाइनु अति उत्तम र फलदायक हुनेछ भन्दै आगामी दिनको लागि शुभेच्छाहरू पनि टक्राएका थिए। अन्त्यमा अध्यक्ष पास्टर जेबी राईबाट सबै सबैलाई हार्दिक धन्यवाद चढ़ाइएपछि पास्टर जोशेफ तामाङको अन्तिम प्रार्थना र पास्टर एचआर राईको आशीर्वचनबाट कार्यक्रम टुंगिएको घोषणा गरियो। यसै बखत पाद्री गङ्गाप्रसादको संक्षिप्त परिचयको रूपमा डा. सुब्बाद्वारा लेखिएको ‘अथक सेवक’ को तेस्रो संस्करणको पनि परिचय गराइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement