१३ अगस्तः संयुक्त आयोजक अष्ट्रेलियाले रोमाञ्चक क्वार्टर फाइनलमा फ्रान्सलाई पेनल्टी शूटआउटमा ७-६-ले पराजित गरी फिफा महिला वर्ल्ड कपमा पहिलोपल्ट सेमिफाइनलमा स्थान बनायो। शनिवार खेलिएको यस म्याचको नियमित समय अनि अतिरिक्त समयमा दुवै टीमले गोल गर्न सकेन। त्यसपछि म्याचको परिणाम हासिल गर्न पेनल्टी शूटआउटको सहारा लिइयो, जसमा भाग्य अष्ट्रेलियाई टीमको साथमा रह्यो। कर्टनी वाइनले दशौं पेनल्टी किकलाई नेटमा हालेर अष्ट्रेलियालाई जीत दिलाइन्।

अष्ट्रेलियाले बुधवार सिडनीमा खेलिने सेमिफाइनलमा ईंग्ल्याण्डको चुनौती स्वीकार्नेछ। अष्ट्रेलियाई टीम यसअघि दुईपल्ट पेनल्टी शूटआउटमा जीत हासिल गर्नदेखि चुकेको थियो तर यसपाली चाहिँ टीमले त्यस मिथकलाई तोड़्यो। म्याचमा अष्ट्रेलियाकी गोलकीपर म्याकेञ्जी अर्नोल्डले असाधारण प्रदर्शन गर्दै टीमको निम्ति धेरै गोल बचाइन्।

यसअघि खेलिएको अन्य एउटा क्वार्टर फाइनलमा एलेसिया रुसोको निर्णायक गोलको सहायताले ईंग्ल्याण्डले कोलम्बियालाई २-१-ले पराजित गरी सेमिफाइनलमा प्रवेश गऱ्यो। यसरी ईंग्ल्याण्डले लगातार तेस्रोपल्ट वर्ल्ड कपको सेमिफाइनलमा स्थान बनायो।

लेसी सान्तोसले ४४औं मिनटमा गोल गरी कोलम्बियालाई बढ़त दिलाइन् तर मध्यान्तरको ठीक अघि स्टपेज टाइममा लरेन हेम्पले गोल गरी स्कोर १-१-को बराबरीमा पुऱ्याइन्।

त्यसपछि एलेसिया रुसोले ६३औं मिनटमा ईंग्ल्याण्डलाई २-१-को बढ़त दिलाइन्, जुन अन्तमा निर्णायक साबित भयो। टुर्नामेण्टको पहिलो सेमिफाइनलमा स्पेन र स्वीडेनबीच मंगलवार भिड़न्त हुनेछ।









