एशियन च्याम्पियन्स ट्रफीमा रेकर्ड चौथोपल्ट च्याम्पियन बन्यो भारत

IMG-20230813-WA0131.jpg

१३ अगस्तः भारतले एक समय पछाड़िए पनि असाधारण पुनरागमन गर्दै मलेशियालाई ४-३-ले पराजित गरी रेकर्ड चौथोपल्ट एशियन च्याम्पियन्स ट्रफी हकी टुर्नामेण्टको खिताब जित्यो। टुर्नामेण्टमा आफ्नो पहिलो फाइनल खेलिरहेको मलेशियाई टीमले आयोजक भारतलाई म्याचमा कड़ा चुनौती दियो। एक समय त मलेशिया ३-१-ले अघि रहेको थियो तर हरमनप्रीत सिंहको कप्तानीमा रहने टीमले पनि असाधारण पुनरागमन गर्दै खिताब जितेर हांगझोऊ एशियन गेम्सको निम्ति आफ्नो तयारी सटीक दिशामा अघि बढ़िरहेको प्रमाण पेश गऱ्यो। म्याचमा पहिलो गोल चाहिँ भारतले दर्ता गऱ्यो। जुगराज सिंहले नवौं मिनटमा पेनल्टी कर्नरबाट गोल गरी भारतलाई बढ़त दिलाए। कप्तान हरमनप्रीत सिंह मैदानमा नभएको हुनाले जुगराजले पेनल्टी लिएका थिए। भारतको बढ़त अधिक समयसम्म चाहिँ कायम रहेन। अजुआन हसनले १४औं मिनटमा गोल गरेर मलेशियालाई १-१-को बराबरीमा पुऱ्याए।

मलेशियाले दोस्रो क्वार्टरमा पनि असल शुरुवात गऱ्यो अनि रहीम राजीले पेनल्टी कर्नरलाई गोलमा परिणत गरी १८औं मिनटमा आफ्नो टीमलाई २-१-को बढ़त दिलाए। त्यसको लगत्तै पछि २८औं मिनटमा मोहम्मद अमिनुद्दीनले पेनल्टी कर्नरमा ड्र्यागफ्लिकद्वारा गोल गरी मलेशियालाई ३-१-को बढ़तमा पुऱ्याए। भारतले पहिलो दुई क्वार्टरमा केही सजिलो पेनल्टी कर्नर पनि गुमायो। तेस्रो क्वार्टरमा भारतले लड़ाकू प्रदर्शन गर्दै एक मिनटभित्र २ गोल गरी स्कोर ३-३-को बराबरीमा पुऱ्यायो। यसमा हरमनप्रीत सिंह र गुरजन्त सिंहले ४५औं मिनटमा गोल गरे। त्यसपछि आकाशदीप सिंहले ५६औं मिनटमा दर्शनीय फील्ड गोल गरी भारतलाई च्याम्पियन बनाए।

एशियन च्याम्पियन्स ट्रफीको यो संस्करण शुरु हुन अघिसम्म भारत र पाकिस्तान ३-३ वटा खिताबको साथ संयुक्त रूपले शीर्ष स्थानमा रहेको थियो तर शनिवार राति खिताब जित्नको साथै भारत शीर्ष स्थानमा पुग्यो। भारतले यसअघि २०११, २०१६ र २०१८-मा खिताब जितेको थियो। टुर्नामेण्टमा भारतले सातवटा म्याच खेलेर सर्वाधिक २९ गोल गऱ्यो। यस अवधि टीमले ८ गोल पनि खायो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement